साङ्केतिक तस्बिर
काठमाडौं – सिरहामा युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष बुढाथोकीले जिल्लाको सुखीपुर नगरपालिका– ४ स्थित लड्कन्हादेखि दही पौडी जाने सडक छेउको धान खेतमा १८ वर्षीय युवकको शव फेला परेको जानकारी दिनुभयो ।

उहाँका अनुसार शव सिरहाको औरही गाउँपालिका– ४ का १८ वर्षीय सचिनकुमार यादवको रहेको छ । धान खेतमा युवकको शव रहेको खबरपश्चात प्रहरी चौकी सिलौर्वापछवारी र जिल्ला प्रहरी कार्यालय सिरहाबाट सोकोसहितको प्रहरी टोली पुगेको थियो । टोलीले लासको जाँच मुचुल्कालगायत प्रारम्भिक अनुसन्धान पूरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा पठाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान थालेको प्रवक्ता बुढाथोकीले बताउनुभयो ।