काठमाडौं – सत्तारुढ नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि खारेज गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णयप्रति खेद प्रकट गर्नुभएको हो ।

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा जनताको ढाड सेक्ने गरी कोही कसैबाट पनि भएका निर्णय नेविसङ्घलाई मान्य नहुने उल्लेख छ । सरकारले तत्काल हस्तक्षेप गरी पेट्रोलियम पदार्थमा नेपाल आयल निगमले गरेको मूल्यवृद्धि खारेज गर्न नेविसङ्घले जोडदार माग गरेको छ । ‘पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज होस् । अन्यथा कडा प्रतिवाद गर्न बाध्य हुनेछौं ,’ विज्ञप्तिमा भनिएको छ ।