रुपन्देही – कार्यबाहक प्रधानमन्त्री समेत रहनुभएका गृहमन्त्री बालकृष्ण खाँणले संविधानको रक्षा र जनविश्वासलाई मजबुत बनाउन पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताउनुभएको छ । नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सत्ता गठबन्धन आम निर्वाचनसम्म कायम रहने उहाँको भनाइ छ ।

रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा कार्यबाहक प्रधानमन्त्री समेत रहनुभएका खाँणले भन्नुभयो– ‘संविधानको रक्षा, जनताको चाहना र विश्वासलाई अझ मजबुत बनाउन आउँदो आम चुनावसम्म सत्ता गठबन्धन कायम रहन्छ ।’ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा महाकरुणा बुद्धमूर्ति अनावरण गर्ने कार्यक्रममा सहभागी हुन मन्त्री खाँण रुपन्देही पुग्नुभएको हो ।

कार्यक्रममा गृहमन्त्री खाँणले बेमौसमी वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट भएको जनधनको क्षतिको उचित व्यवस्थापन गरिने समेत बताउनुभयो ।