काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्रिक पार्टीभित्र नेतृत्वले अलोकतान्त्रिक काम गर्दा त्यसको विरोधमा सशक्त आवाज उठाउनुपर्ने बताउनुभएको छ । नेतृत्वले लापर्वाही गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आइपुगेको उहाँको भनाइ छ । नेपाली काङ्ग्रेस कीर्तिपुर नगर समितिले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीको नेतृत्व र अवस्था सुधार अन्य पार्टीका नेता कार्यकर्ताले नगर्ने भन्दै आफूहरू नै पार्टी सुधारमा लाग्नुपर्ने बताउनुभएको छ ।
‘पार्टीभित्रको समस्यामा हामीले कुरा नउठाए कस्ले उठाउँछ ? पार्टीको समस्या हामीले आफैँ समाधान गर्ने हो,’ नेता सिंहले भन्नुभयो– ‘बाटो बिराउनेलाई बाटो देखाउनु पर्छ । आलोचना गर्दा पार्टीको विधि र पद्धतिको रक्षा हुन्छ ।’ पार्टीभित्रका भजन मण्डलीले नेतृत्वलाई अलमलमा पारिरहेको उहाँको भनाइ छ । नेता सिंहले काङ्ग्रेसको इतिहास राम्रो छ भन्दैमा चुप लागेर बसे आगामी चुनावमा जनताले त्यसको नतिजा देखाइदिने बताउनुभएको छ । इतिहासका साथसाथै अझै राम्रो गर्न सबै नेता कार्यकर्ता लाग्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
उहाँले १३ औँ महाधिवेशनपछि काङ्ग्रेस इतिहासकै कमजोर अवस्थामा आइपुगेको बताउनुभयो । अहिलेकै अवस्था कायम रहे राष्ट्रिसभाको चुनावमा भाग लिनबाट पार्टी वञ्चित हुनुपर्ने जोखिम आएको भन्दै त्यसको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्ने उहाँको भनाइ छ । उहाँले विवाद मिलाउन पर्नेमा नेतृत्वले त्यसो गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले केही व्यक्तिले आफ्नो पक्षमा मत लिनको लागि धाँधली गरेको र सदस्यता वितरणमा केही पुराना काङ्ग्रेसी कार्यकर्ताहरुलाई अन्याय भएको समेत टिप्पणी गर्नुभयो ।
पार्टीभित्रको बेथिति र विकृति अन्त्यका लागि नयाँ पुस्ता आउनुपर्ने उहाँको धारणा थियो । विधि र पद्धतिको पालना गर्नुपर्छ भन्ने पार्टीले नै विधिको शासन मान्न छोडेपछि जनताले विश्वास नगर्ने भएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ । त्यस्तै नेता सिंहले आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेद्वार बन्न आफू तयार रहेको समेत जिकिर गर्नुभयो । पार्टीलाई वडादेखि केन्द्रसम्म शक्तिशाली बनाउन र लोकतन्त्र जोगाउनको लागि आफू सभापति बन्नुपर्ने उहाँको तर्क थियो ।