तस्वीर : प्रधानमन्त्रीको सचिवालय ।

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतमा रहेका गैरआवसीय नेपालीहरुलाई मातृभूमिको सामाजिक–आर्थिक उन्नयनका निम्ति बेलायती लगानी भित्र्याउन सक्रियातापूर्वक लाग्न आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्गठन यूके शाखाको आयोजनामा शनिबार भएको कार्यक्रममा प्रधानमन्त्रीले वैदेशिक लगानी भित्र्याउनका लागि लगानीकर्तालाई के–के सुविधा दिनुपर्ने हो त्यसका निम्ति सरकार तयार रहेको बताउनु भएको हो ।

गैरआवासीय नेपालीका नेपाली नागरिकता र प्रवेशाज्ञाप्राप्तिलगायत समस्या राजनीतिक दलको सहमतिमा संसद्बाट पारित गर्नुपर्ने भएकाले सबैको समझदारीमा मिलेर जानुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभएको छ ।

गैरआवासीय संघ यूके शाखाका संरक्षक शेरबहादुर सुनारले भूतपूर्व गोर्खा सैनिकका समस्या सामाधानका लागि विशेष प्रयास गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो । सोही शाखाका शाखा अध्यक्ष प्रेम गाहामगरले नेपालमा लगानीमैत्री वातावरण बनाउन जरुरी रहेको बताउनु भयो ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्षराष्ट्रको २६ औँ सम्मेलन (कोप–२६) अन्तर्गत यही कात्तिक १५ गते हुने विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिने बीस सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लण्डन पुग्नुभएका प्रधानमन्त्री देउवाले शनिबार नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले उनको सम्मानमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुनुभएको हो । रासस