काठमाडौं – प्रमुख प्रतिपक्षी दलको आज शुक्रबार बसेको पार्टी केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्यहरुले महाधिवेशन प्रतिनिधिको सङ्ख्या बढाउन माग गरेका छन् । ललितपुरको बालकुमारी, च्यासलमा रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावल, केन्द्रीय सदस्यहरु हिक्मत कार्की, झपट रावललगायतले भूगोलबाट आउने प्रतिनिधिहरुको सङ्ख्या बढाउन माग गरेका हुन् ।

यसअघि हिजो बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकले आगामी मङ्सिरमा चितवनमा गर्ने भनिएको दशौं महाधिवेशनमा १ हजार ५ सय प्रतिनिधि चयन गर्ने निर्णय गरेको थियो । भूगोलबाट १ हजार १ सय ९६ जना आउने छन् भने केन्द्रीय कमिटी, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषद्का निश्चित सदस्य पदेन प्रतिनिधि रहेन व्यवस्था गरिएको छ ।

हिजो बसेको स्थायी कमिटीको बैठकले हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट एक हजार पाँचसय पार्टी सदस्य बराबर दुई खुला र एक महिला गरी ३ जना प्रतिनिधि महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको थियो । त्यसमा थप हुने हरेक एक हजार सदस्य बराबर एक प्रतिनिधि थप हुने बताइएको छ ।

यसैगरी प्रत्येक जिल्लाबाट एकएक जना दलित प्रतिनिधि, हरेक प्रदेशबाट मजदुर प्रतिनिधिहरु चयन हुनेछन् । हरेक जन वर्गीय सङ्गठनबाट ५÷५ जना महाधिवेशन प्रतिनिधि आउने छन् भने केन्द्रीय कार्यालय र विभागहरुबाट दुई खुला र एक महिला गरी ३ जना तथा प्रवासबाट २० जना प्रतिनिधि सहभागी हुने निर्णय स्थायी कमिटी बैठकले निर्णय गरेको छ । सोही निर्णय परिमार्जन गर्नुपर्ने माग जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले गरेका छन् ।