काठमाडौं– सर्वोच्च अदालतका प्रधानन्यायाधीश विरुद्ध उत्पन्न विवादले मुद्दाहरु प्रभावित भएका छन् । यसैकुरालाई हृदयंगम गर्दै न्यायाधीशहरु इजलास आशिंकरुपमा सञ्चालन गर्ने या नगर्ने भन्ने विषयमा छलफल गर्न जुटेका छन् । लामो समय इजलास प्रभावित हुँदा न्याय सम्पादनमै ठूलो समस्या उत्पन्न भै असहज अवस्था आइपरेको भन्दै न्यायाधीशहरुबीच शुक्रबार छलफल भएको हो ।

छलफलका क्रममा प्रधानन्यायाधीशको राजीनामाको मागलाई कायम राख्दै आंशिक रुपमा इजलास खोल्ने वा के गर्ने भन्ने विषयमा छलफल भएको सर्वोच्च अदालत स्रोतले बताएको छ । आजको बैठकमा हाल बाहिर रहेका दुई न्यायाधीश अनिलकुमार सिन्हा र सपना मल्ल प्रधान अदालतमा हाजिर भएपछि थप छलफल गरेर निर्णय लिने समझदारी भएको छ ।

आजको बैठकमा बन्दीप्रत्यक्षीकरणलगायतका मुद्दा हेर्नेगरी इजलास सुचारु गर्नेगरी छलफल भएको छ । न्यायाधीशद्वय सिन्हा र प्रधान फर्किएपछि आइतबार बिहान निर्णय गरेर निष्कर्षमा पुगिने अदालत स्रोतले बताएको छ । पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका छन् भने अदालतमा गुटबन्दी देखिएको छ ।