काठमाडौं – सर्वोच्च अदालतमा मुद्दा हेर्न परमादेश जारीको माग गर्दै रिट दर्ता भएको छ । सर्वोच्च अदालतमा न्यायाधीशहरु इजलासमा सहभागी नहुँदा बन्दी प्रत्यक्षीकरणसहित तत्काल सुनुवाइ प्रभावित भै न्यायको हक उल्लङ्घन भएको भन्दै पेशी सूचीमा रहेका मुद्दा हेर्न परमादेश जारीको माग गर्दै अधिवक्ता कृष्ण प्रसाईसहितका कानुन व्यवसायीहरुले संयुक्तरुपमा रिट दर्ता गराएका हुन् ।

उक्त रिटमा शुक्रबारबाटै मुद्दा स्वच्छ सुनुवाइका लागि परमादेश जारी गर्न माग गरिएको छ । उक्त रिटमा ‘सर्वसाधारणको बन्दी प्रत्यक्षीकरण लगायतका मुद्दामा तत्काल सुनुवाई हुनुपर्ने संविधानको धारा २० बमोजिमको न्यायसम्बन्धी हक उल्लंघन हुन गएको कारण यसबीचमा केही न्यायाधीशहरु बिदामा बस्नु भएको भन्ने जानकारी आएको दर्ता रिटमा उल्लेख छ । ‘विपक्षी माननीय न्यायाधीशज्यूहरुका नाममा आजैको मितिदेखि संविधानको धारा १३३ (२), (३) बमोजिम पेशी सूचीका कुनै पनि मुद्दा नरोक्नु, इजलासमा बसी स्वच्छ सुनुवाइ गर्नु भन्ने व्यहोराको परमादेश जारी गरिपाउँ’ भनि उल्लेख छ ।