फाईल तस्वीर

काठमाडौं– देशमा प्रजातन्त्रको पुनर्वहाली भयो, लोकतन्त्र र गणतन्त्र आयो । महिला हक अधिकारका आवाज उठे, महिला स्वतन्त्रताका कुरा उठे । समानुपातिक समावेशीका कुरा उठे । राज्यका सबै तहमा ५० प्रतिशत महिलाको सहभागिताका कुरा उठे । तर यी कुरा हुने–खाने, पढा–लेखा गरेका र राजनीतिक पहुँच भएकाहरुकै लागि मात्रै रहेछ भन्ने आभाष भैआएको छ । स्वतन्त्रताका नाममा आयातीत संस्कारको सिकार बन्दै गैरहेको छ नेपाली समाज । आधुनिक रहन सहनले असीमित महत्वकाङ्क्षा पलाउँदै जाँदा आज समाजमात्र होइन घर परिवार पनि विखण्डनको सिकार बनिरहेको छ ।

विकास र आधुनिकीकरणका नाममा आयातीत संस्कारले आज घरपरिवार र समाजका अनुशासन, मूल्य र मान्यता माथि नै चुनौती थपिएको छ । चपिदै विकृतिजन्य क्रियाकलापले देशलाई गाँज्यो । घर परिवार समाज विखण्डित हुँदै गएको छ । समाजमा विकृति र विसङ्गतिले अझै जरा गाडेको छ । अधिकार र स्वतन्त्रताका नाममा नेपाली समाजमा महिलाहरुको असीमित चाहनाले विकृति र विसङ्गतिले गाँजेको छ । देशमा गणतन्त्र आयो । स्वतन्त्रताका नाममा हामीले नेपालीपनको पहिचान गुमाउँदै आधुनिकताका नाममा विसङ्गतिलाई प्रसय दिइरहेका छौं । विकृति र विसङ्गति मौलाउँदो छ ।


यस्तै परिवेशलाई नियाल्दै समसामयिक नेपाली समाजको अध्ययन गर्ने विगत २/३ वर्ष अघिदेखिको मेरो रहर भनौँ या कौतुहलता बल्ल पुरा भयो । म काठमाडौंको मुटु मानिने न्युरोडसम्म पुगेर आफ्ना मनका कौतुहलता मेट्ने कोसिस गरेँ र निस्किएँ समाचार खोज्नका निम्ति आफ्नो बासस्थानबाट । नेपाली पत्रकारिता आफैंमा चुनौतिपूर्ण त छ नै त्यसमाथि महिना पत्रकारलाई त झन विभिन्न बाधा व्यवधानको सामना गर्नुपर्ने अवस्था छ । दिउँसोको समय, टन्टलापुर घाम, आँखा हेर्न पनि गाह्रो, पिच सडकमा । तै पनि खोजमूलक विषय, जसरी पनि पत्ता लगाउनु थियो मलाई । यसैक्रममा म कार्यक्षेत्र बनाउँदै काठमाडौं महल अगाडिको प्रतिक्षालयमा बसेँ, गाडी कुर्ने बहाना गर्दै । त्यहाँको गतिविधिलाई सुक्ष्म ढङ्गले नियालिरहेको थिएँ मैले, सुनेको कुरालाई लिएर । जहाँ म भरखर गाउँबाट आएको बहाना गर्दै एउटी ४०/४२ वर्ष उमेरकी महिला बसिरहेकी थिइन्, उनीनेर पुगेर बसें । उनी कतै सभा समारोहमा जान हिंडेकी जस्ती चिटिक्क मेकअपमा सजिएकी थिइन् । मनमनै सोचेँ कतै जान हिडेकी होलिन् । साथी आउँदै भएर प्रतिक्षामा कुरी बसेकी होलिन् । मेरो मनले यही भनिरहेको थियो । तर मैले उनीसँग परिचय गर्ने दुस्साहस भने गरिन ।


सयम बित्दै गयो । मैले खोजी गर्न, बुझ्न चाहेको विषयमा रिपोर्टिङ गर्न नपाउने हो कि भनेर सोचेर बसिरहेको थिएँ । उनीसँग कुरा गर्ने, परिचय गर्ने आँट पनि आएन । घडीको सुईले फन्को मारिरहेको थियो, तर उनको गतिविधि नियालिरहेको थिएँ । उनी यता उता पल्याक पुलुक नजर गुमाउँदै थिइन् । मैले सोधें ‘दिदी हजुर कता जाने, म भरखर गाउँबाट आएको, पाटन जानु थियो । राम्रोसँग बाटो थाहा छैन’ भने । उनीसँग सामान्य कुरा भयो । मैले परिचय मागें । किन चाहियो र बैनी मेरो परिचय भनिन् । नाम नसोध, दिदी भन्यौँ पुगिगो नि । पछि, सरिता (परिवर्तित नाम) हो मेरो नाम भनिन् । मैले ‘ए’ भनें मात्र ।


समयको चक्रले फन्को मारिरहेको थियो । मैले त्यहाँ र सरिताको गतिविधिलाई नियाली रहेको । उनले मेरो कुरालाई वास्तै नगरी आफुलाई अन्तै मोडिन । उनले बाटोमा हिडिरहेको आफूजस्तै उमेरको केटामान्छेलाई एक्कासी रोक्ने प्रयत्न गर्दै ‘मसँग जानुहुन्छ ? हजार, पन्ध्रसय भए पुग्छ, प्लिज जाउँ न’ । म छक्क परें । म सुनिरहें । हेरिरहें । किनकी मलाई यसै विषयमा खोजमुलक समाचार बनाउनु थियो । मेरो रिपोर्टिङ गर्न चाहेको र खोजेको एउटा अंश थियो । सरिताले ती पुरुषलाई प्लिज जाउँ न भनेपछि केटाले हाँसेर ‘मैले तपाईंलाई चिन्दिन, को हो तपाई ? फेरि कहाँ भन्नु भएको ? पैसाको कुरा गर्नुहुन्छ फेरि’ भने । सरिता आफैं अकमक्क भइन् र भनिन् कस्तो नामर्द पुरुष ! मैले मनमनै कुरा खेलाए र सोचेँ यिनले कता जाउँ भनेकी होलिन् । उनीसँग सोध्ने आँट पनि आएन । तर पनि म उनको गतिविधि बुझ्न केही नबुझे जस्तो, थाहा नपाए जस्तो, गाउँबाट भरखर आएकी केटीकै जस्तो व्यवहार गरी बसिरहें । उनीपनि त्यही बसिरहिन् ।


निकै बेरपछि उनको मोवाइलमा घण्टी बज्यो । उठाइन र भनिन हजुर कहाँ हुनुहुन्छ ? भरे कतिबजे आउने मलाई भेट्न ? आज त अलि लामो समय लिएर आउनुस है मस्ति गर्नुपर्छ ! म अचम्मित भएँ । उनको कुरा सुनिरहेँ । ति पुरुषसँग कुरा सकेर फोन राखिन् सरिताले । फोनको लामो कुराकानीपछि मख्ख परेकी उनीसँग मैले लगनखेल जाने गाडी कहाँ पाइन्छ दिदी भनेर कुरा गर्ने बहाना फेरी बनाएँ । दिदी यहाँ बाट लगनखेल जाने गाडी पाईन्छ ? उनले झर्केर भनिन् खै थाहाँ छैन मलाई । मलाई आफ्नो उद्देश्य पुरा गर्नु नै थियो । उनको जवाफ आउला कि भनेर कुरिहरें । निकै बेरपछि उनले मलाई आँफै सोधिन् ‘कहाँ बस्छौ, किन जाने लखनखेल ? मैले म गाउँबाट आएकी कामको खोजिमा ! एक जना साथिले लगनखेलमा काम लगाइदिन्छु भनेकोले जान लागेको । कहाँबाट जाने थाहा नै भएन’ –मैले भनेँ ।


त्यसपछि सरिता मसँग फटाफट बोल्न थालिन् । मलाई उनको कुरा बुझ्न सहज भयो । हजुर कहाँ बस्नुहुन्छ, के काम गर्नु हुन्छ ? को को हुनुहुन्छ घरमा ? मेरा यी प्रश्नको जवाफ दिंन कुनै हिच्किचाहट भएन उनलाई । ‘ घर मेरो काभ्रे हो, यहाँ स्वयम्भुमा बस्छु ।’ उनको जवाफ फरररर आयो । ‘छोराछोरी स्कुल पढ्छन् । लोग्ने विदेश गएको १ वर्ष भयो । म अरुले जस्तो जागिर खान्न नानी ! दिनभरि करायो दक्षिण हरायोको जागिर नि कस्ले खान्छ ! दुई चार जना मान्छेलाई खुसी पार्छु । दश पन्ध्र हजार दिन्छन् । दुःख नी गर्नु नपर्ने, अर्काको गालि पनि खानु नपर्ने’ –भनिन् ।

उनको आसय त मैले बुझिसकेको थिएँ, तर नबुझेझै गरी सोधेँ । कसरी खुसी पार्ने त दिदी ? उनले मलाई इङ्कित गर्दै हाँसेर भनिन्– ‘यति राम्री छौ । चिटिक्क मिलेको जिउडाल छ । यस्तो जवानीमा पनि के बुझ पचाएर कुरा गर्छाै तिमी !’ म नबुझे झै गरी हाँसें । किनकी मलाई कुरा बुझ्नु थियो । सोधें हजुरले भन्न खोज्नु भएको कुरा के हो बुझिन, लौन बुझ्ने गरी भन्नु, के हो त्यो खुसी ? कसरी दिने ? सिकाइदिनुस् न त ! म नि त्यही गर्छु नि !
सरिता यौन व्यवसाय गर्ने महिला हुन् भन्ने छनक मैले अघिनै थाहापाइ सकेको थिएँ । उनले जसरी सडकमा हिंडिरहेको पुरुषलाई रोकेरै जाउँ न भनेकी थिइन् । यति पैसा भए पुग्छ भनेकि थिइन् । उनले हसिलो र उज्याले अनुहार पार्दै भनिन् –‘ साच्चै हो त बैनी ! फेरि कसैलाई नि नभन है त ?’ मैले हस् मात्र भनें । किनकी मलाई यस्ता यौनकर्मी महिलाहरुको बारेमा बुझ्नु थियो । म पत्रकार, त्यसमाथि केटी । सहज हुने कुरा त थिएन सरितासँग कुरा बुझ्न मलाई । सिकाउनुस् न त्यो खुसी के हो, अनि कसरी दिने केटा मान्छेलाई त्यो खुशी ? मैले एकैसाथ विभिन्न प्रश्न तेस्र्याए उनीसँग ।


सरिताले हाँस्दै भनिन्– ‘आजभोली फुली नचाएर पैसा कमाउन पाइन्छ ।’ के को काम गरेर हाडछाला घोट्नु त व्यर्थैमा ! मेरो लोग्नेले खाडी गएर मरिमेटेर महिनामा ४० हजार कमाउँछन् । म त त्यो नाथे ४० हजार त तिन दिनमै कमाउँछु । यहि पेशा गरेर स्वयम्भु नजिक २ तले घर जोडिसकेँ । छोराछोरीलाई नि राम्रो र्बोिडङ स्कुलमा पढाएकी छु । दःुख नि नहुने, मनोरञ्जन गर्न नि पाइने । कसैले थाहा पाउँदैनन् क्यारे । आफुले गोपनीयता अपनाउन जान्नु पर्यो नि !’


हो, सरिता जस्तै हजारौं यौनकर्मी महिलाहरु भेटिंदा रहेछन् राजधानीका मुख्य सडक, गल्लि र चोकहरुमा । त्यतिमात्र होइन, राजमार्गहरुमा पनि यौनकर्मी महिलाहरु भेटिन्छन् भन्ने समाचारहरु नआएका होइनन् । यो विवशता र बाध्यता हो कि छिट्टै पैसा कमाउने लालसा हो ? यो प्रश्नको उत्तरको खोजिमा मेरो मन मस्तिस्कमा घुमिनै रह्यो । म सरिताकै कुरामा सुनिरहें । उनले भनिन् –‘तिमी पनि मैले जस्तै गर । पैसा पनि हुने, इन्जोइ पनि मिल्ने ।’


मैले उनलाई नारी अस्मिता, पारिवारिक जिम्मेवारी, नेपाली समाजप्रति जिज्ञासा तेस्र्याएँ । उनलाई त्यतातिर कुनै मतलब भएन । सरिताले जवाफ फर्काइन् –‘अहिले तिमीसँग के इज्जत छ, अर्काको घरमा डेरा लिएर भाडा तिर्नु छ, खान लाउन धौ धौ छ । दैनिक रोजिरोटिको गर्जो टार्नै मुस्किल छ । यसरी अर्कार्को गुलामी गर्नु परेको छ, बाबु—आमा होलान् दाजुभाई होलान्, पैसा माग्दा रिसाउलान् । अफ्ठ्यारो पर्दा दुःख पोखे मत्लव नराख्लान । तर, तिमीले यहि काम गरेर मैले जस्तै काठमाडौंमा घर जोड, दुई–चार तोला सुन बनाएर लाएर घर जाउ आउ गर । त्यो तिम्रो समाज, तिम्रा परिवारले तिमीलाई ज्यू ज्यू गर्छन् । मैले त यो सबै भोगेर यहाँसम्म आँए । म जस्तै सुखी र रमाइली बन्ने भए यस्तै गर’ उनी आफ्नो यौन व्यवसायप्रति गर्व गर्दै मलाई सम्झाउने कोसिस गरिरेकी थिइन् ।


सरिता मसँग कुरा गर्दैगर्दा बेलाबेला यौन ग्राहकको खोजिमा हुन्थिन् । उनको कुरा सुनीरहेँ हाँसेर बसें । कुरा गर्दै जाँदा कतै तिमी पत्रकार त होइनौं बैनी ? मैले भनेको कुरा मोबाइलमा रेकर्ड त गरिछैनौं भनिन् । मैले आफु पत्रकार नभै गाउँबाट आएको गाउँले केटी । म कताको पत्रकार हुनु र ! भनें । उनले पुनः ग्राहक खोज्दै बाटोमा हिंरिहेका अर्को पुरुषलाई बोलाउँदै एक्कासी ‘ए दाजु जाउँ ! फ्रेस बनौँ’– भनिन् । म छक्क परें, उनको ग्राहक खोज्ने शैली हेरीरहेँ । ती पुरुष आफ्नै सुरमा हिंडे, अल्लि पर पुगेर रोकिए, अनि फरक्क फर्किएर सोधे सरितासँग –‘कति लिनुहुन्छ ?’ सरिताले ‘तीन÷चार हजार जतिभए पनि हुन्छ, तर एक घण्टा मात्रै’ हो । म उनीहरुबीचको संवादलाई ध्यान दिएर सुनिरहें । ति पुरुषले ‘ल जाऊँ भने, अनि सरिताले मलाई भनिन् –‘यी यसरी हो बैनी मान्छे फकाएर खुशी पार्ने’ भन्दै मुसुक्क हाँस्दै मेरो कानमा भनिन् । अनि दुवै सुन्धाराको एक होटलमा छिरे । म हेरिरहेँ ।


दिन घर्किंदै थियो । घामको ताप ओरालो लाग्दै थियो । दिउँसोको तीन बजेको हुँदो हो । मानिसहरुको चहलपहल पनि बढ्दै थियो । रिपोर्टिङ गर्न हिडेकी म पत्रकार, आफैंलाई पनि कता कता असहजताको अनुभूति भैरहेको थियो नै । तर पेशागत जिम्मेवारीलाई आत्मसात् गर्दै कार्यस्थलमा जानुको विकल्प पनि त थिएन नि मसँग । म यता उता हिंडे । पुनः अघि बसेकै ठाउँमा आएर टुसुक्क बसें । यता उता मेरा नयनहरुले यौनकर्मी महिलाहरुलाई खोज्न थाल्यो । यसैबीच एक जना ३५/३६ वर्षकी महिला हाफपाइन्ट र टाइट टिसर्टमा मेकअप सहित चिरिच्याट् भएर आइन् । मेरै नजिक बसिन उही प्रतिक्षालयको बेञ्चमा ।


एक टकले मलाई हेरिरहिन् र भनिन् ‘कस्लाइ कुर्नु भएको ?’ मैले ‘साथीलाई पर्खिएको, ऊ आउँदै छे’– भने । कस्तो साथी ? उनले सोधिन् । मैले जवाफ दिए ‘कलेज जानलाई’ । उनले भनिन् ‘कलेज ! दिउँसो तीन बजिसक्यो त, कस्तो कलेज हो, त्यो रात पर्ने बेला जाने ?’ मैले जवाफ दिए ‘हो, क्याम्पस दिउँसो चार बजेपछि मात्रै पढाई हुन्छ, म मास्टर पहिलो वर्षमा पढ्दै छु, बिहानी कक्षा छैन, त्यहाँ ।’ उनले पढ्नुको के अर्थ हुन्छर भन्ने पाराले भनिन्,–‘पढेर के पाइन्छ ? त्यहि पैसा कमाउन हैन, सम्पन्नशाली बन्न हैन ? म छक्क परेर सुनिरहेँ र सोधेँ ‘हजुर कहाँ पढ्नुु हुन्छ ? के गर्नु हुन्छ ?’ ‘म त पढ्दिन । गाँउमै ६/७ कक्षासम्म पढ्थेँ । अल्छी लागेर पढ्नै छोडेको । यहाँ रमाईलो जिन्दगी बिताउँछु । मलाई चाहिएजति पैसा कमाएकी छु, मलाई पढ्ने मान्छे मन पर्दैन’– उनको जवाफ सुनेर छक्क परें ।


कुराकानी कै दौरानलाई निरन्तरता दिंदै मैले उनको परिचय मागें । नाम, घर, पेशा सोधें । नाम उल्लेख नगर्ने सर्तमा उनले भनिन् – ‘गाउँको घर तनहुँ हो । यहाँ बसेको आठ दश वर्ष भइसक्यो । पहिला त नोकरी गर्थे । अफिसमा चियासिया पकाउने काम गर्थे, जम्मा छ, सात हजार तलब दिन्थे । पैसा लिन महिनौ कुर्नुपथ्र्यो । अहिले त दुई चार जना केटाहरुलाई पट्याउँछु । बीस पच्चीस हजार त आरामले हुन्छ ।’


ती कल्पना (परिवर्तित नाम) को कुरा सुनेर म छक्क परेँ । अघि भेटिएकी सरिता र यी कल्पनाको कुरा उस्तै । यी दुवै यौनकर्मी महिला । सरिताले जसरी नै कल्पनाले पनि मलाई उही पाराको प्रश्न सोधिन् । आफैं बोल्न थालिन – ‘पढेर के गर्छौ ? तिम्रो पढाइमा लगाएको लगानी उठाउन नि सक्दैनौ बैनी तिमीले जिवनभरी ।’ म मौन रहेँ, हाँसेर हो है दिदी भनें । मलाई कुरा बुझ्नु थियो । मैले उनको दैनिकी सोधेँ । ‘कसरी पाउनुहुन्छ, भेट्नु हुन्छ त्यस्ता पुरुषहरु, जस्ले चार पाँच हजार दिन्छन् तपाईलाई ? अनि कसरी सहजै मान्छन् त तपाईंको प्रस्तावलाई ?’ कल्पना सहजै भन्छिन् ‘ मेरो रेगुलर एकजना ग्राहक छन्, जो बेलुकी नौ बजे मेरो कोठामा आउँछन् र झिसमिसे बिहानी मै निस्कन्छन् । उनीसँग मैले मासिक पचास हजार लिन्छु । अरु त यहाँ आयो यसो मान्छेको लवाई खवाई हेर्यो । यो मान्छेसँग भन्यो भने मान्छ भन्ने भएपछि प्रस्ताव राख्यो । कुरा मिलेपछि होटल तिर जान्छौं । बस्छौं । एकछिन रमाइलो गर्यो पैसा लियो काम खतम ।’


त्यसोत कल्पना सुन्धारामात्र बस्दिन, ‘कहिलेकाँहि रत्नपार्कतिर पनि जान्छु’ –भन्छिन् । ‘दिनमा तीन÷चार जना भेटिन्छन् । एक–दुई घण्टा टाइम दिने हो । पच्चिस सयदेखि तीन हजारसम्म दिन्छन् ।’ उनले हिँडिरहेका मान्छेलाई ‘दाई जाउँ आज बोर भाछ फ्रेस हुन मन लाग्यो, हजुरसँग’ भनिन् । म छक्क परेँ । कस्तो आँटिली महिला । को हो, कहाँ जान लागेको मान्छे हो ! सिधै जाउँ फ्रेस हुन बोर भाछ रे ? अचम्म मान्दै नसुनेझै मोबाइल चलाएर बसिरहँे । किनकी मलाई त्यो दृश्य र सम्वाद बुझ्नु नै थियो । ति पुरुषले पनि इच्छा जाहेर गर्दै ‘कता जाने त, जाउँन त भने । दुवैको सहमति भयो । उनीहरु पनि सुन्धाराको टेलिकम अफिसको पछाडि तिरको गेष्ट हाउसतिर लागे । मेरो मनमा अनेकौ कौतुहलता थियो । तर आज रिपोर्टिङकै क्रममा अनेकन परिदृश्य र सम्वाद सुन्ने र देख्ने मौका पाए । यि र यस्ता कयौं महिला यौनकर्मी महिलाहरु भेटिन्छन् सहजै राजधानीका मुख्य चोक र सडकहरुमा ।


त्यसपछि म रत्नपार्क तिर जाने सोच बनाएँ र मेरो खोजमुलक रिपोर्टिङको पाइलो रत्नपार्क तिर तेर्सियो । म रत्नपार्कको पुलमा पुगें, टक्क रोकिएँ । त्यहाँपनि यता उता मेरा नयनहरुले यौनकर्मी महिलाहरुलाई खोज्न थाल्यो । एकछिनको बसाइपछि पुरुषहरुले जाने हो पनि भन्दा रहेछन् । एकजनाले त म आफैंलाई पनि सोधे । मैले –‘कहाँ जाने दाई, के भन्नु भएको ? मलाई चिन्नु हुन्छ र जाने भन्नुभएको ? भनें । विचरा ति पुरुष कालो निलो अनुहार लगाएर सरी भन्दै हिंडे ।


त्यहाँ अर्की भरखर्की २४/२५ वर्षकी देखिने एकजना केटी टुप्लुक्क आइन र टक्क उभिइन् । मेरा नयनहरु उनी तिर तेर्सिए । केहीबेर पछि एकजना पुरुष आए, ‘जाने हो ? भने’ । उनले मुन्टो हल्लाइन् । पैसाको मोल मोलाइ भयो, कतिमा भयो त्यो त प्रष्ट हुन सकेन । ति पुरुषको निमन्त्रणालाई स्वीकार गरिन र दुवै गन्तव्य तिर लागे ।


भोलिपल्ट पनि म त्यही ठाउँमा कुरा बुझ्न पुगें । तिनै यौनकर्मी महिलाहरु भेटिए । हिजो भेटिएकी सरिता आफैं बोल्न आइन् र हाँसेर जिस्कदै भनिन् –‘क्या हो बैनी, तिमी पनि हामी जस्तै हो की क्या हो ? दिनदिनै यतै छौ त भनेर हाँसिन् । मैले – ‘होइन दिदी, महाराजगञ्ज जाने बस कुरेको’ भने । हिजो यही काठमाडौं महलको बस, टेम्पो बिसौनीमा भेटिएका उनीहरुको क्रियाकलाप हिजो र आजमा कुनै भिन्नता थिएन । मलाई अब उनीहरुबाट ‘किन यो पेशामा लागे त भन्ने बुझ्नु थियो ।


हिजो चिनेकोले मलाई मुख खोलेर सोध्न कुनै समस्या नै भएन । ‘किन यस्तो पेशामा लाग्नु भएको भनेर सोधें । सरिताले सहजै भनिन् ‘पैसा कमाउन, इन्जोइ गर्न । बिहे गरेर एउटै मान्छेसँग मात्रै हुन्छ, खासै इन्जोइ हुँदैन । उसको खुशीमा मात्रै चल्नुपर्छ । अहिले लोग्ने बाहिर छ । आफूलाई आवश्यकता पनि छ । पैसा पनि टन्न कमाउन सकिने फरक फरक खालको इन्जोइ पनि हुने यसमै खुशी छु ।’ म उनको कुरा सुनेर छक्क परें । उनको कुराले मलाई गम्भीर पनि बनायो ।


उनी भन्दै थिइन् –‘जहिलेसम्म बल हुन्छ, यो काममा इन्ट्रेस्ट हुन्छ । त्यहिलेसम्म जो जो पाइन्छ, त्योसँग गरिरहने हो । अब त बानी परिसक्यो । पैसाभन्दा पनि टेस्ट फरक हुन्छ । एउटैले बीस–तीस हजार दिन्छु भने पनि अब सधैँ मसँग मात्रै गर भने पनि सकिंदैन अब त ।’ उनलाई घरपरिवार छोराछोरी र समाजप्रति किन्चित चिन्ता छैन, तर छोराछोरीको भविष्य बनाउनु पर्छ भन्नेमा ढुक्क छिन् । चिन्ता छ त इन्जोई र पैसा कमाउने । सरिताका अनुसार यस्ता कयौं यौनकर्मी महिलाहरु छन् जो यौनको सन्तुष्टि लिन र पैसा कमाउन उद्त्त छन् । उनकै कुरालाई आधार मान्ने हो भने पनि मध्यम वर्गीय महिलाहरु पनि यौन सन्तुष्टिका निम्ति यो पेशामा लागेका छन् । दुःख परिश्रम गरेर भन्दा यस्तै पेशामा लाग्नेहरुको सङ्ख्या राजधानीमा धेरैछन् भन्ने सरिताको बुझाइ छ ।


सरिता ‘छोराछोरी पनि त हामीजस्तै हुन् नि । तिनका पनि उमेरमा गरुन् हामीजस्तै फ्रि होउन । उनीहरुलाई जे जे मन लाग्छ त्यही गरुन् बन्देजमा पार्न चाहन्न म ।’ अचम्म लाग्दो जवाफ र रवाफ देखिन्छ उनमा । ‘छ–सात वर्ष भयो होला पचास साठ्ठी लाख कमाए, घुमें, खाँए, दुई–चार तोला सुन जोडें, घडेरी किनेकी छु । सकेभने यहि कामबाट घर बनाउने चाहना छ ।’ सरिता शरिरमा उत्तेजना रहुन्जेल अब यो पेशाबाट टाढा हुन सक्दिन भन्छिन् । ‘आफ्ना ग्राहकले जे जे चाहन्छन् त्यो सबै पुरा गरिदिनु पर्छ’– भन्छिन् सरिता । सरिताको अनुहारमा एकाएक परिवर्तत देखिन्छ । उनी गम्भीर हुँदै भन्छिन् –‘लामो समय यौनको मज्जा लिने धुनमा सब गर्न लगाउँछन्, जसले मनदेखि भएको इनर्जी सबै उकल्नुपर्छ ।’ उनीमात्रै होइन कल्पनाको कुरा पनि त्यस्तै छ ।


आफ्नो पेशाप्रति हिनताबोध नहुने पनि होइन रहेछ उनीहरुमा । यी यौनकर्मी महिलाहरु ‘कहिलेकाहीँ त अहिले नै छोडौँ जस्तो लाग्छ, तर गाह्रो छ छोड्न पनि’ भन्छन् । ‘लत बसिसक्यो नि उनी मुसुक्क मुस्कुराउँदै भन्छिन् कल्पना । कसरी आउँछन् यो पेशामा महिलाहरु ? म फेरी सोध्छु । उनी मेरो प्रश्नप्रति झर्किदो पाराले भन्छिन् ‘कोही रहरले पैसा पाइने मोजमस्ती हुने धुनमा आउँछन् त कोहि बाध्यताले ।’ मेरो प्रश्नले कल्पना पनि कतै तिमी पत्रकार त होइन भन्छिन् । तर म होइन दिदी, केवल बुझ्न खोजेको मात्रै भनेर उनको कुरा अनुभूति खोतल्ने प्रयास गर्दछु ।
नेपाली समाजले बर्जित गरेको यौन पेशा, घरपरिवार, समाज, परिवेश । यस्तो अवस्थामा तपाई किन लाग्नु भयो यस्तो धेयको पेशामा ? कल्पना भन्छिन् ‘म पहिला त बाध्यताले लागें । अहिले मोजमस्तिले लत बस्यो छोड्नै नसक्ने भएँ । सबैकुराबाट हार खाएर मन नहुँदा नहँुदै यो पेशामा आउने पनि होलान् । तर म चाँहि इन्जोइ चाहेर पैसा देखेर आएँ यो पेशामा ।’


काठमाडौं महल, रत्नपार्कमा भेटिएका यौनपेशा अङ्गालेका महिलाहरुलाई ‘तपाईहरुका ग्राहक के कस्ता हुन्छन् ? भनेको सोधें । अधिकांशको उत्तर ‘त्यो त भन्ने कुरै भएन नि बैनी’ भन्छन् । तर पनि ‘जो हेर्दा लक्का जवान छ, जो अलिक पैसावाल देखिन्छ र जसलाई श्रीमतीबाट सन्तुष्ट मिलेको हुँदैन ती मान्छे खोजेर सन्तुष्ट पार्दै पैसा र मस्ती गर्छौ’ भन्छन् ।


यी त प्रतिनिधिमूलक यौनकर्मी महिला पात्रमात्रै हुन् । राजधानीको चाबहिल, गोंगबु क्षेत्र, बालाजु, कलङ्की चोक, काठमाडौं महल अगाडि, बीर अस्पतालको आसपास रत्नपार्क, कोटेश्वर यौनकर्मी महिलाहरु भेटिन्छन् । रिपोर्टिङ कुरा सम्पर्क गरेका मध्ये धेरैले कुरा गर्नै चाहेनन् । कति त पत्रकार त होइनौं कतै तिमी भन्दै आशङ्का गर्दै तर्र्किए। पटक पटकको ममाथि पत्रकार हौ ? भनेर तेर्सिएको प्रश्नबाट जोगिन पनि हम्मेहम्मे भयो । तर मैले आफुलाई गाउँबाट आएको केटी भन्दै उनीहरुसँग कुरा गर्ने जमर्को गरें । सोचे जस्तो अनुसन्धान र खोजमुलक त बन्न सकेन । तर राजधानीमा यस्ता हजारौं यौनकर्मीहरुको छन् भन्ने कुरामा कुनै सन्देह रहेन । यस्ता यौनकर्मी महिलाहरुको ग्राहक भनेका युवा, अधवैंशे पुरुष, प्रहरी, सेनाका मानिसहरु रहेको यौनकर्मी महिलाहरु बताउँछन् । दैनिक गर्जो टार्न नसकेर, बालबच्चाको स्वर्णीम भविष्य बनाउने बाध्यताले, पारिवारीक मनमुटाव र पारपाचुकेका कारण, रोजगारीको अवसर नपाउँदा यौन पेशामा लागेको बताउँछन् उनीहरु ।