काठमाडौं – नेपाली सेनामा प्रधानसेनापति महारथी प्रभुराम शर्मा कार्तिक तिहार लगतै भारतको चार दिने भ्रमणमा जानुहुने भएको छ । प्रधानसेनापति शर्मा भारतीय समकक्षी सेनाध्यक्ष एमएम नरवणेको औपचारिक निमन्त्रणामा यही कार्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणमा जाने हुनुभएको हो । नेपाली सेना र भारतीय सेनाको परम्परागत सम्बन्धअनुसार भारतीय सेनाको मानार्थ महारथी दर्जाको सम्मान ग्रहण गर्न प्रधानसेनापति शर्मा भारत जान लाग्नु भएको हो । दुवै देशका सेना प्रमुखलाई एकले अर्कोलाई मानार्थ महारथी दर्जाको सम्मान दिने परम्परा रहँदै आएको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार कार्तिक २३ गते भारतको नयाँदिल्ली पुग्ने प्रधानसेनापति शर्माले कार्तिक २४ गते भारतीय राष्ट्रपति रामनाथ कोविन्डबाट भारतको मानार्थ महारथी दर्जाको सम्मान ग्रहण गर्ने कार्यक्रम रहेको छ । प्रवक्ता पौडेलका अनुसार भारतीय सेनाको मानार्थ महारथी दर्जा सम्मान ग्रहण गरेको भोलिपल्ट प्रधानसेनापति शर्माले भारतीय राष्ट्रपति कोविन्डसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

चार दिने भारत भ्रमणका क्रममा प्रधानसेनापति शर्माले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्रीसँगै भारतका सेनाध्यक्ष नरवणेसँग समेत छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रधानसेनापतिर्मा कार्तिक २६ गते स्वदेश फर्कने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ ।