काठमाडौं – जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रमा न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको सङ्केत भएको बताउनुभएको छ ।

आज बिहीबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष भट्टराईले न्यायपालिकामा गम्भीर रोग देखिएकाले न्यायपालिकाले नै यसको उपचार गर्नुपर्ने बताउनुभयो ।

न्यायाधीश नियुक्तिदेखि सबै प्रक्रिया त्रुटिपूर्ण रहेको बताउँदै उहाँले भागबण्डामा चल्ने कामले न्यायालयको प्रतिष्ठामा आघात पुगेको टिप्पणी गर्नुभयो । भट्टराईले न्यायपालिकाबाटै समस्या सिर्जना भएकाले त्यसको निरुपण पनि न्यायालयबाटै हुनुपर्ने बताउनुभएको हो ।

डा.भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना नै गलत भनिरहनु पानी धमिल्याएर माछा मार्ने कोशिश मात्रै भएको टिप्पणी गर्नुभयो ।