काठमाडौं – नेकपा एमालेको स्थायी कमिटीको बैठकले १० औँ महाधिवेशनका लागि प्रतिनिधि संख्या र मापदण्ड तय गरेको छ । बैठकले महाधिवेशनमा १ हजार ५ सय ३६ जना प्रतिनिधि सहभागी हुने तय गरेको हो । तीमध्ये १ हजार १ सय ९६ जना भूगोलबाट र अन्य गैह्रभूगोलबाट प्रतिनिधित्व रहने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

ज्ञवालीका अनुसार महाधिवेशनमा ५१ प्रतिशत समावेशी र ४९ प्रतिशत खुला प्रतिनिधि सहभागी हुनेछन् । त्यस्तै हरेक निर्वाचन क्षेत्रबाट ३ जना महिला आउने गरी ३३ प्रतिशत महिलाको सहभागीता सुनिश्चित गरिएको ज्ञवालीले बताउनुभयो ।

महाधिवेशनमा तीन खालका प्रतिनिधि सहभागी हुने ज्ञवालीले बताउनुभयो । ज्ञवालीका अनुसार भूगोलबाट, केन्द्रीय कमिटी, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग तथा सल्लाहकार परिषदका सदस्य पदेन प्रतिनिधि हुनेछन् । त्यस्तै उहाँले पाँच प्रतिशत भने मनोनयन हुने बताउनुभयो ।

एमाले महाधिवेशनमा हरेक जिल्लाबाट एक जना दलित प्रतिनिधि सहभागी हुनेछन् । त्यस्तै हरेक प्रदेशबाट मजदुर प्रतिनिधि पनि महधिवेशनमा सहभागी हुनेछन् । स्थायी कमिटीको यो प्रस्ताव भोलि बस्ने केन्द्रीय कमिटीको बैठकमा पेस हुने ज्ञवालीको भनाइ छ ।