काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत्र मसान्तसम्ममा सबै नेपालीलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने सरकारी लक्ष्यमा केन्द्रीत हुन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री देउवाले कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको आज बिहीबार बसेको बैठकलाई सम्बोधन गर्दै उक्त निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री देउवाले समन्वय केन्द्र, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा सम्बन्धित सबै निकायलाई खोपको सुनिश्चितता गर्न समेत निर्देशन दिनुभएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत् कोभिड–१० सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) गठन गरेको थियो । तर उक्त अध्यादेश निष्क्रिय भएपछि देउवा सरकारले गठन आदेशमार्फत् प्रधानमन्त्रीको संयोजकत्वमा कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र गठन गरेको थियो । बैठकमा हाल चाडवाडका कारण कोरोना सङ्क्रमणको अवस्थाका साथै नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रमा यसको सङ्क्रमणको अवस्थाका बारेमा विस्तृत छलफल भएको थियो ।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म नेपालको कुल जनसङ्ख्याको ३४ प्रतिशतले कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा र २२ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेको जानकारी दिएको छ ।