काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाअभियोग लगाउने विषयमा कुनै छलफल नभएको बताउनुभएको छ । आज बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाउने विषयमा सत्तारुढ गठबन्धनभित्र कुनै छलफल नभएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो–‘ प्रधानन्यायाधीशको राजीनामा माग्दै न्यायाधीशहरू आन्दोलित भए पनि महाअभियोगका विषयमा गठबन्धनभित्र कुनै छलफल भएको छैन । सत्तारुढ दल नेकपा माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा (पाँच दल) को बैठक पनि बसेको छैन ।’

अध्यक्ष नेपालले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला सुनाउने न्यायाधीशहरूको राजीनामा माग्नु नाजायज भएको पनि बताउनुभएको छ । मंगलबार एमालेको पालिका स्तरीय अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशहरूले राजीनामा दिनु उपयुक्त हुने बताउनुभएको थियो । त्यसै कुरालाई लक्षित गर्दै एसका अध्यक्ष नेपालले भन्नुभयो, ‘प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला सुनाउने न्यायाधीशहरूको राजीनामाको माग नाजायज छ । ’