प्रतीकात्मक तस्वीर
काठमाडौं — महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउद रहेकी छन् भने सोहीस्थान कै आठ वर्षीय सन्दीप साउद बेपत्ता रहेका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभएको छ । महाकाली नदीस्थित शिवनाथ–१ खाँडघाटमा हिजो साँझ १० जना सवार डुङ्गा दुर्घटनामा परेको हो ।
सोही दुर्घटनामा परी बेपत्ता भएका मध्ये मीनाको शव आज बिहान ७ः३० बजे महाकाली नदी किनारमा फेला परेको र सन्दीप साउदको स्थिति अहिलसम्म अज्ञात नै रहेको प्रहरीले जनाएको छ । बेपत्ता सन्दीपको खोजीकार्य भइरहेको र खोजीकार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

दुर्घटनाग्रस्त डुङ्गामा सवार अन्य आठ जना सकुशल रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिका भारतसँग जोडिएका तथा भारततर्फ आवतजावत गर्दा पुल नहुँदा महाकाली नदीमा डुङ्गाको सहायताले जाने गर्दछन् । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । — रासस