फाइल तस्वीर ।

हेटौंडा – बागमती प्रदेशले तेस्रो पटक नयाँ मुख्यमन्त्रीको रुपमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डेलाई पाउने भएको छ । पाण्डेलाई गठबन्धन दलहरुले साझा उम्मेदवारका रुपमा प्रस्तुत गरिसकेका छन् । मुख्यमन्त्रीको पदबाट एमाले नेतृ अष्टलक्ष्मी शाक्यले हिजो राजीनामा दिएपछि पाण्डेलाई मुख्यमन्त्री बन्ने ढोका खुलेको हो ।

आज गठन हुने बागमती प्रदेशको मन्त्रीपरिषद्मा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्रीको शपथ लिएसँगै सोही पार्टीका कृष्ण खनाल, एकीकृत माओवादी केन्द्रबाट कुमारी मोक्तान र नेपाली काङ्ग्रेसबाट कृष्णलाल भँडेलले मन्त्री पदको शपथ लिनु हुने भएको छ । यद्यपि, नियुक्त हुने मन्त्रीहरुले कुन कुन मन्त्रालय पाउने भन्ने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

केन्द्रीय सरकारमा भएको गठबन्धनकै आधारमा बागमती प्रदेशमा पनि सोही आधारमा एमालेको सरकारलाई विस्थापत गरी गठबन्धन दलहरुले राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा प्रदेश सरकार गठन गर्न लागेको हो । एकीकृत समाजवादीका संसदीय दलका नेता पाण्डेले मुख्यमन्त्रीमा दावी गर्दै बुधबार साँझ माओवादी केन्द्र, नेपाली काङ्ग्रेस, नेकपा एकीकृत समाजवादी तथा सङघीय समाजवादीका गरी ५९ जना प्रदेश सांसदहरुको समर्थन रहेको पत्र प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पेश गर्नुभएको थियो । आफु अल्पमतमा परेपछी मुख्यमन्त्री पदबाट एमालेकी अष्टलक्ष्मी शाक्यले राजीनामा दिए लगतै प्रदेश प्रमुख शर्माले बिहीबार दिउँसो ३ बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गर्नुभएको थियो ।

कुल ११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ जना सांसद चाहिन्छ । गठबन्धनले ५९ जना सांसदको हस्ताक्षर बुझाएको एकीकृत समाजवादीका सांसद पार्वती सिलावालले जानकारी दिनुभएको छ । जसमा माओवादी केन्द्रका २३, काङ्ग्रेसका २२, नेकपा (एकीकृत समाजवादी) का १३ र जसपाका एकजना प्रदेश सभाका सदस्य छन् । आज दिउँसो ३ः१५ बजे नयाँ मुख्यमन्त्रीको शपथ ग्रहणको कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।