काठमाडौं – दिवंगत नेता मदनकुमार भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ का विशेषतालाई विश्वविद्यालय शिक्षाका पाठ्यक्रममा समावेश गर्ने विषयमा विभिन्न विषय विज्ञ र विभागीय प्रमुखसँग परामर्श गरिएको छ । मदन भण्डारी फाउण्डेशनको आयोजनामा बुधबार भएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका केन्द्रीय नेपाली विभाग, आमसञ्चार तथा पत्रकारिता विभाग, जल तथा मौसम विभाग, अर्थशास्त्र, समाजशास्त्र, भूगोल, इतिहासलगायत विभागका प्रमुख तथा प्राध्यापकको सहभागिता थियो ।

कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले जबजलाई एमालेले पार्टीको मार्गदर्शक सिद्धान्त बनाए पनि यो मुलुक र विश्व कम्युनिस्ट आन्दोलनका लागि एक मौलिक सिद्धान्त भएकाले यसलाई केन्द्रमा राखेर विश्वविद्यालयमा अध्ययन, अनुसन्धान गर्न गराउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले शान्तिपूर्ण बहुदलीय राजनीतिक प्रतिस्पर्धात्मक प्रणाली, मानव अधिकार, प्रेस स्वतन्त्रता, मौलिक अधिकारलगायका १४ विशेषतायुक्त जबजलाई अप्रत्यक्ष रुपमा नेपालका सबै दलले कार्यान्वयन गरिरहेको बताउनुभयो ।

फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले जबजलाई विश्वविद्यालय शिक्षामा लागू गराउन विभिन्न विश्वविद्यालयसँग सम्झौता गरी काम सुरु भएको बताउनुभयो । एमालेका तत्कालीन महासचिव भण्डारीबाट प्रस्तुत पार्टीको २०४९ माघमा भएको पाँचौँ राष्ट्रिय महाधिवेशनमा ‘नेपाली क्रान्तिको कार्यक्रम :जनताको बहुदलीय जनवाद’ पारित भएको थियो । रासस