काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज अपरान्ह बस्ने भएको छ । ललितपुरको बालकुमारीस्थित च्यासलमा रहेको तुल्सीलाल स्मृति प्रस्तिष्ठानमा ४ बजे बैठक बस्न लागेको हो ।

आज बस्ने स्थायी कमिटीको बैठकको मुख्य एजेण्डा भनेको आगामी मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा गर्ने भनिएको पार्टीको दशौं महाधिवेशनलाई लक्षित गर्दै वडा र पालिकास्तरमा सम्पन्न भएका अधिवेशनहरुको रिपोर्टिङ र त्यसको समीक्षा गर्ने रहेको छ । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार विशेषगरी आज यिनै विषयमा छलफल केन्द्रीत हुनेछ । कार्यलय सचिव तामाङका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिकाको विषयमा समेत छलफल हुनेछ ।

पार्टी विभाजन पछि नेकपा एमालेले देशका ६ हजारभन्दा बढी वडा र ६ सयभन्दा बढी पालिकामा अधिवेशन गरिसकेको छ । अधिकांश स्थानका अधिवेशनमा नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको छ । केही वडा र पालिकाको अधिवेशन हुन बाँकी रहेकाले ति वडा र पालिकाहरुको अधिवेशन यसै महिनाको अन्त्यसम्ममा गरिसक्ने एमालेले जनाएको हो ।

चितवनमा गर्न लागिउको पार्टीको दशौं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौट गर्ने विषयमा आज बस्ने स्थायी कमिटीको बैठकमा छलफल हुने र एक खालको मापदण्ड तयार गर्ने र भोलि शुक्रबार बस्ने केन्द्रीय कमिटीको बैठकमा त्यसलाई पेश गरी अन्तिम टुङ्गोमा पुर्याउने एक नेताले बताएका छन् । एमालेले भोलि शुक्रबारको लागि पार्टी केन्द्रीय कमिटीको बैठक समेत डाकिसकेको छ ।