काठमाडौं – काठमाडौं महानगरपालिकाले बुढानीलकण्ठमा निर्माण हुने बाल अस्पतालका लागि चार करोड आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । महानगरपालिकाले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग विशेषज्ञसहितको आधुनिक अस्पताल निर्माणका लागि चार करोड आर्थिक सहयोग गर्ने सम्झौता–पत्रमा हस्ताक्षर गरेको हो ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका तर्फबाट अध्यक्ष डाक्टर भगवान कोइरालाले सम्झौता–पत्रमा हस्ताक्षर गर्नुभएको छ । हस्ताक्षरपछि बोल्दै मेयर शाक्यले मुलुक सङ्घीयतामा गैसकेको अवस्थामा स्वास्थ्य सेवाका लागि संघीय राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले महानगरपालिकाले स्वास्थ्यका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको भन्दै चाइल्ड हेल्थ अस्पताल निर्माणका लागि सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभएको छ । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डाक्टर कोइरालाले नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य र अलिक भिन्न तरिकाले बालबालिकाको सबै प्रकारका रोगको विशेषज्ञसहितको विशिष्टिकृत सेवा दिने उदेश्यले अस्पताल निर्माणको अभियानमा जुटेको बताउनुभयो ।

उहाँले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगले काठमाडौंबाट एउटै छनामुनिबाट विशिष्टिकृत सेवा दिने अभियानलाई मूर्तरुप प्रदान गरेको बताउनुभयो । ‘काठमाडौंमा हामीले २०० बेडको अस्पताल निर्माणको तयारी गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘काठमाडौं महानगरपालिकाले गरेको सहयोग हाम्रो अभियानका लागि कोशेढुङ्गा बनेको छ । अब अस्पताल निर्माणको काम द्रुत गतिका साथ अघि बढ्छ ।’