हेटौंडा – एमाले नेतृ अष्टलक्ष्मी शाक्यले बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री पदमा दावी गर्न २४ घण्टे सूचना जारी गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले भोलि बिहीबार दिउँसो ३ बजेभित्र मुख्यमन्त्रीका लागि दाबेदारी प्रस्तुत गर्न प्रदेसभाका सदस्यहरुलाई आह्वान गर्नु भएको हो ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यद्वारा हस्ताक्षरीत विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरिएको छ ।

प्रदेशसभामा विश्वासको मत नपाउने भएपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बुधबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै आफुले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो । प्रदेशसभामा एमालेको बहुमत नपुग्ने भएपछि मुख्यमन्त्री शाक्यले पदबाट राजीनामा दिनुपरेको हो ।

नेकपा माओवादी केन्द्र, नेपाली काङ्ग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी लगायत पाँच दलीय गठबन्धनले मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेलाई अघि सार्ने निर्णय गरिसकेका छन् । नयाँ सरकार गठन गर्नको लागि गठबन्धनसँग ५९ जना सांसद रहेका छन् ।