प्रतीकात्मक तस्वीर
सप्तरी— अविरल वर्षासँगै एक साता अगाडि आएको हावाहुरीका कारण सप्तरीको खडक नगरपालिका–१० स्थित केरा बगानमा ठूलो क्षति भएको छ । झण्डै १५ बिघा क्षेत्रफलमा लगाइएको केरा बगानमा तयार हुन लागेका तीन हजार ५ सय केरा घरी क्षति भएको स्थानीयवासी वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो ।
अविरल वर्षासँगै चलेको हावहुरीका कारण दुई वर्षअघि सञ्चालनमा आएको सो केरा बगानमा रु.२५ लाखभन्दा बढीको लगानी डुबेको फार्मका सञ्चालक उमेश साहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुरुका वर्ष राम्रै कमाइ भएको तर, यस पटक हावाहुरी र वर्षाले लगानी समेत डुबायो, घरका सबै जग्गा जमिन बैंककमा धितो राखेर ऋण उठाएर बगानमै लगानी गरे तर, प्राकृतिक प्रकोपले सबै बर्वाद गरिदियो ।’
छठ पर्वमा केराको बिक्री राम्रो हुन्छ । कतिपय केराको घारी त्यस बेलासम्म तयार भइसक्ने र छठमा बेच्ने योजना रहेको उहाँले सुनाउनुभयो । यही कात्तिक १ र २ गते भएको वर्षा र हावाहुरीले उहाँले लगाउनुभएको केराबाली नष्ट गरेको हो । वर्षा र हावाहुरीले लगाएका अधिकाङ्श केराका बोट लडाएको छ ।
शिक्षण पेशा छाडेर कृषि पेशामा लागेकामा अहिले पछुतो लागिरहेको जनाउँदै दश वर्ष शिक्षण पेशामा आबद्ध रहेका साहले कृषिमा राम्रो आम्दानी होला भन्ने सोचका साथ यो पेशामा लागेको बताउनुभयो । बाली कृषि बीमाका लागि सम्बन्धित ठाउँमा निवेदन दिँदा हालसम्म त्यसको सुनुवाइ नभएको उहाँले गुनासो गर्नुभयो । उनीसँगै अरु किसानको केरा बालीमा समेत क्षति पुगेको बताइएको छ ।