काठमाडौं – चारैतिरबाट राजीनामाको दबाबमा पर्नुभएको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज संवैधानिक इजलास सहितको पेशी तोक्नुभएको छ । प्रधानन्यायाधीश राणाले वरिष्ठताको आधारमा आफूसहितको संवैधानिक इजलास तोक्नुभएको हो । आजका लागि संवैधानिक इजलास सहित ११ इजलासमा कुल २ सय ७८ पेशी तोकिएका छन् । यसअघि प्रधानन्यायाधीश राणाले सोमबार र मङ्गलबार आफ्नो लागि इजलास तोक्नुभएको थिएन ।

न्यायाधीशहरुले सोमबारदेखि नै अघोषित रुपमा इजलास बहिष्कार गर्दै आएपछि आज पनि न्यायाधीशहरु इजलास छल्नका लागि सामूहिक छलफलमा बस्ने तयारी गरिरहेका छन् । पेशी तोकिए पनि न्यायाधीशहरु इजलासमा नजाने र नेपाल बारले आजदेखि वकिलहरु बहसमा सहभागी नहुने घोषणा गर्दा सेवाग्रहीहरु भने मर्कामा परेका छन् । न्यायाधीशहरुले हिजो प्रधानन्यायाधीश राणालाई भेटेर राजीनामाका लागि आग्रह गरेका थिए । तर प्रधानन्यायाधीश राणाले राजीनामा नदिने बताएपछि उनीहरु फेरि छलफलमा जुटेका थिए । जसका कारण इजलास प्रभावित भएको थियो ।

नेपाल बार र सर्वोच्च बारले पनि प्रधानन्यायाधीश राणाको राजीनामा मागेका छन् । तर राणाले नै आफू संवैधानिक प्रक्रियाबाट नियुक्त भएको भन्दै दबाब र प्रभावमा आएर राजीनामा नदिने बताउनुभएको छ ।