काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने पक्षमा रहेका कानून व्यवसायीहरुले आजदेखि सर्वोच्च अदालतमा बहस नगर्ने भएका छन् । कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले आजबाट सर्वोच्चमा बहस नगर्ने निर्णय गरेको हो । एशोसिएसनका केन्द्रीय सदस्य खिमानन्द अधिकारीले आजदेखि आफूहरुले सर्वोच्च अदालतमा बहस नगर्ने बताउनुभएको छ । ‘हामीले सर्वोच्च अदालतमा आजबाट बहस गर्दैनौं,’ अधिकारीले भन्नुभयो, ‘प्रधानन्यायाधीश जबराले एक–दुई दिनमा राजीनामा नदिए देशभर चरणबद्ध आन्दोलन गर्छौं ।’

त्यसो त प्रधानन्यायाधीश जबराविरुद्ध उभिएका सर्वोच्चका न्यायाधीशहरूले लगातार दुई दिन मुद्दा नहेरेपछि न्यायनिरुपणको काम नै रोकिएको छ । आज बिहान ११ बजे उहाँहरू छलफलमा जुट्दै हुनुहुन्छ । सरकारमा भाग खोजेको, सहकर्मी न्यायाधीश समेतको विश्वास जित्न नसकेको, न्यायालयको गरिमामा आँच आउने काम गरेको लगायतका आरोप लागेपछि प्रधानन्यायाधीश जबरा एक्लिनुभएको छ ।

यसअघि सर्वोच्चका सहकर्मी न्यायाधीशहरूले नै उहाँलाई राजीनामा दिन सुझाउँदै उहाँले तोकिदिएको इजलासमा नबस्ने निर्णय गरेका थिए । यसैगरी नेपाल बार एशोसिएसन, सर्वोच्च बार एशोसिएसन र पूर्वन्यायाधीशहरुले पनि उहाँको राजीनामा माग गरेका छन् । राजीनामा दिनुपर्ने दबाबमा परे पनि प्रधानन्यायाधीश जबराले भने कसैले राजीनामा माग्दैमा नदिने बताएका छन् । आफूले राजीनामा दिनुपर्ने भए विवादमा परेका अन्य न्यायाधीशहरूले पनि राजीनामा दिनुपर्ने उहाँको धारणा छ ।