फाइल तस्वीर
हेटौंडा — बागमती प्रदेशमा आज बुधबार सरकारको पक्ष र विपक्षमा मतविभाजन गरिने भएको छ । करिब दुई महिना अघि मुख्यमन्त्री पदमा नियुक्त हुनु भएकी एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेशसभामा एमाले संसदीय दलकी नेता अष्टलक्ष्मी शाक्यले आज प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको हो । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत विभाजनका गर्न सबै तयारी पूरा गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । विश्वासको मत विभाजनको मतदान लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको र अधिकृतसहितका कर्मचारी खटाइने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनु भएको छ ।

मुख्यमन्त्री शाक्यले विश्वासको मत प्राप्त गर्न नसकेमा आजै उहाँ मुख्यमन्त्रीबाट विदा लिनुहुने छ भने बागमती प्रदेशमा नयाँ मुख्यमन्त्रीको रुपमा नेकपा (एस) का संसदीय दलका नेता राजेन्द्र पाण्डे नियुक्त हुनुहुने छ । विपक्षी गठबन्धनले नेकपा (एस)का संसदीय दल नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अगाडि बनाउने निर्णय गरिसकेको छ । यस प्रदेशमा नेकपा (एस)र काङ्ग्रेसले प्रदेशसभाको बाँकी कार्यकालमा आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मतका निम्ति राख्नुभएको प्रस्तावलाई गत ४ गते प्रदेशसभामा टेबुल गरिएको थियो । सत्तारूढ एमाले र विपक्षी गठबन्धनको आन्तरिक विवादका कारण सभामुख सानुकुमार श्रेष्ठले मत विभाजन प्रक्रिया दुई पटक सार्दै आउनु भएको थियो । प्रदेशसभामा हाल सत्तापक्ष एमालेका ४३ सांसद छन् भने, माओवादी केन्द्रका २३, नेपाली काङ्ग्रेसका २२, नेकपा (एस)का १३, विवेकशील साझाका ३, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) र राप्रपाका २ जना सांसद रहेका छन् ।

विश्वासको मतका लागि ५५ जना सांसदको समर्थन आवश्यक पर्दछ । विवेकशील साझाले शाक्यलाई विश्वासको मत नदिने बताइसकेको छ । नेपाल मजदुर किसान पार्टी र राप्रपाले मुख्यमन्त्रीको पक्ष वा विपक्षमा मत दिने नदिने सम्बन्धमा कुनै निर्णय गरेका छैनन् । सम्भवत यी दुवै दलले मतदानमा भागलिने सम्भावना ज्यादै न्यून देखिन्छ । एमालेका १३ सांसदले नवगठित एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा पर्नु भएको थियो । एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य गत भदौ २ गते बागमती प्रदेशको मुख्यमन्त्री बन्नु भएको हो । उहाँ नेपालकै पहिलो महिला मुख्यमन्त्री हुनुहुन्छ ।

बागमती प्रदेशसभाले अविश्वासको मत विभाजनका लागि कार्यविधि तयार गरेको छ । कार्यव्यवस्था तथा परामर्श समितिअन्तर्गत रहेर गठन गरिएको उपसमितिले ‘दस्तखतसहितको मत विभाजन सम्बन्धि कार्यविधि–२०७८’ तयार गरेको संयोजक छिरिङदोर्जे लामाले जानकारी दिए । संयोजक लामाका अनुसार उक्त कार्यविधि बुधबार सभामुख सानुकुमार श्रेष्ठलाई हस्तान्तरण गरिनेछ । ‘हामीले प्रदेशसभामा दीर्घकालिन रुपमा प्रयोग हुने गरी कार्यविधि तयार गरेका छौं’, संयोजक लामाले बताउनु भयो । कार्यविधिमा पक्ष, विपक्ष र नो भोटको व्यवस्था गरिएको छ । उपसमितिमा राजेन्द्र पाण्डे, बुद्धिमान माझी, गणेश दुलाल, रिना गुरुङ, रिता माझी, सुरेन्द्रराज गोसाईं र शोभा शाक्य सदस्य हुनुहुन्छ ।