प्रतीकात्मक तस्वीर
काठमाडौं – इलामको देउमाई नगरपालिकामा झारफुक गर्ने क्रममा दुईजनाको मृत्यु भएको छ । विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार नगरपालिका ५ बारुङ का ३३ वर्षीय कमल तामाङले झारफुक गर्ने क्रममा श्रीमती र छोरीको मृत्यु भएको हो ।

प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवीनराज राईले मंगलबार बिहान करिब ६ बजे ३४ वर्षीया बिरामी श्रीमती सीता तामाङ र १६ वर्षीया छोरी शिक्षा तामाङको झारफुक गर्दै घाँटी र शरीरको विभिन्न स्थानमा टोक्दा मृत्यु भएको जानकारी दिनुभयो । तामाङले आफ्नै घरभित्र परिवारका सदस्यकाबीच धामी बस्दै समय–समयमा बेहोस हुने बिरामीका रुपमा रहेका दुवैजनाको रोग हटाउन झारफुक गरेको प्रहरीको भनाई छ ।

घटनाको जानकारी पाएसँगै गजुरमुखीस्थित अस्थायी प्रहरी चौकीबाट टोलीले तामाङलाई हत्या अभियोगमा पक्राउ गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको प्रवक्ता राईले जानकारी दिनुभयो ।