काठमाडौं – देशका पहाडी भू–भागमा आजको मौसममा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा सामान्यतया सफादेखि आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ । आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा सामान्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । राति उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ । देशका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा हिमपातको समेत सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।