मोरङ – पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतप्रति जनताको विश्वास उठ्ने कार्य नगर्न राजनीतिक दललाई आग्रह गर्नुभएको छ । विराटनगरमा गएराति आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतको हुर्मत लिने काम नगर्न सुझाव दिनुभएको हो ।

एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘अदालतलाई बद्नाम र बेइज्जत गर्ने काम नहोस् । अदालतप्रति जनताको विश्वास उठ्ने काम नहोस् । समय रहँदै अदालतलाई मर्यादित विश्वनीय र निष्पक्ष बनाऔं । जसका लागि न्यायाधीश, नेपाल बार, सर्वोच्च बारले ध्यान दिन आवश्यक छ ।’ दल विशेषको गुटबन्दी, लेनदेनको कारोबारका सेटिङमा बार पर्न नहुनेमा उहाँले जोड दिनुभयो । उहाँले अहिलेको तामासबाट मुलुकलाई जोगाउने काम एक्लै एमालेले मात्र गर्न सक्ने दाबी गर्नुभयो ।

यसैबिच सभामुखको भूमिकाप्रति आक्रोशित ओलीले एमालेको विरुद्धको षडयन्त्रमा सभामुख सरिक भएको आरोप लगाउनुभयो । गएको ३ वर्षदेखि संसदीय समितिमा एउटा गुटले नागरिकता विधेयकलाई बन्धक बनाएर राखिएको बताउँदै उहाँले भन्नुभयो, ‘वर्तमान सभामुखले संसदलाई नचाहिने कामहरु गर्ने जालझेलको अखडा बनाएका छन् ।’ सरकारप्रति पनि तिक्तता व्यक्त गर्दै ओलीले आफूहरुले थालनी गरेको विकास निर्माण कार्यलाई समेत वर्तमान सरकारले रोकेको आरोप लगाउनुभएको छ ।