काठमाडौं – नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागेको छ । आज बसेको बारको आकस्मिक बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने भन्दै राजीनामा मागेको हो । ‘हामीले उहाँबाट निकास हुनुपर्छ भन्ने निर्णय गरेका छौं’ बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले भन्नुभयो, ‘यसको औपचारिक निर्णय भोलि सार्वजनिक हुन्छ । भोलि सबै सल्लाहकारहरुसँग बृहत छलफल गरेपछि निर्णय सार्वजनिक गर्छौं ।’
बारका अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘हामीले अहिले उहाँले निकास दिनुपर्छ भनेका हौं, न्यायपालिकाभित्रै मिलाउन सक्नुभएन । उहाँको काम कारवाहीमा अरु सहकर्मीहरु नै असन्तुष्ट बने । यसले त उहाँबाट नेतृत्व हुनसक्ने देखिएन नि । त्यसैले निकास दिनुपर्छ भनेका हौं । यति भनिसकेपछि पनि निकास के हो ? निकास के हो ? भन्नै पर्दैन । स्पष्ट छ ।’
बारको आकस्मिक बैठकबाट भएको यो निर्णय भोलिको सल्लाहकार परिषद्को बैठकपछि थप परिपक्व हुन्छ । त्यसपछि निर्णय सार्वजनिक गरिने अध्यक्ष श्रेष्ठको भनाइ छ । भोलिकै छलफलमा कसरी अघि बढ्ने भन्नेबारे पनि तय हुने उहाँले बताउनुभयो । न्यायपालिकामा देखिएका विकृति, विसङ्गति अन्त्य गर्न नसकेको भन्दै पूर्वन्यायाधीश समाजले प्रधानन्यायाधीशले निकास दिनुपर्ने नभए प्रतिनिधिसभाले आफ्नो संवैधानिक दायित्व पूरा गर्नुपर्ने बताएको थियो ।त्यस्तै न्यायपालिका शुद्धिकरण अभियानमा रहेका वरिष्ठ कानुन व्यवसायीहरुले पनि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।