काठमाडौं – नेपाली काङ्ग्रेसको महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल गर्न केन्द्रीय निर्वाचन समिति बैठक सुरू भएको छ । आज दिउँसो पार्टी कार्यालय सानेपामा बैठक बस्ने निर्वाचन समिति संयोजक महादेव यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आज हामी बैठक बस्दैछौं, महाधिवेशनका कार्यक्रमहरु कसरी अगाडि बढाउने भन्नेमा छलफल गर्छौं ।’

कार्यतालिका अनुसार महाधिवेशन प्रक्रिया अगाडि नबढेपछि निर्वाचन समिति छलफलमा जुटेको हो । महाधिवेशन कार्यतालिका अनुसार कात्तिक १० देखि १२ सम्म प्रदेश अधिवेशन हुनुपर्नेमा काङ्ग्रेसमा अहिलेसम्म १३ जिल्लामा वडा अधिवेशन नै सुरु भएको छैन । मंसिर ९–१३ का लागि तोकिएको केन्द्रीय महाधिवेशन निर्धारित मितिमा नहुने निश्चित भइसकेको छ ।

हिमाली भेगका २१ जिल्लामा दशैं अघि जिल्ला अधिवेशन सम्पन्न गरिसक्ने निर्वाचन समितिको निर्णय थियो तर दशैं अघि १३ जिल्लामा मात्रै जिल्ला अधिवेशन सम्पन्न भएको छ भने प्रदेश दुईका आठ जिल्लामा अझै वडाअधिवेशन भएको छैन । रौतहट र रसुवाको क्रियाशील सदस्यता पनि टुङ्गिएको छैन । निर्वाचन समितिले तिहार अघि वडा अधिवेशन नभएका जिल्लामा अधिवेशन प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।