काठमाडौं – युनेस्को नेपाल प्रमुख माइकल क्राफ्टले नेपाल सरकारले शिक्षा क्षेत्रका प्राथमिकता तोकेर दिए काम गर्न सजिलो हुने बताउनुभएको छ । आज नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग मन्त्रालयमा भएको भेटमा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँले नेपाल प्राकृतिक एवम् साँस्कृतिक हिसाबले भरिपूर्ण देश भएको भन्दै, “हामी नेपालमा काम गर्न आएका हौं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राथमिकता तोकोस् भन्नुभयो ।”

नेपाल सरकार र मन्त्रालयसँग सहकार्य गरी शिक्षा क्षेत्रमा काम गर्न इच्छुक रहेको क्राफ्टले बताउनुभएको थियो । मन्त्री पौडेलले युनेस्कोले नेपालमा काम गरिरहेको बताउँदै शिक्षा, विज्ञान तथा प्रविधि र स्वास्थ्य नै आफूहरुको प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो । “दुई पक्षीय छलफल गरेर ठोस् कार्यक्रम तयार गर्दैछौं” मन्त्री पौडेलले भन्नुभयो, “नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कार्यक्रमसहित सहकार्य गर्न तयार छ ।”

मन्त्री पौडेलले शिक्षा नै सबै ढोका खोल्ने माध्यम भएकाले युनेस्कोलाई लगानी गर्न आग्रह गर्नुभयो । काठमाडौंको गोकणेश्वर नगरपालिका–४ मा युनेस्को ग्राम, सङ्ग्राहलय बनाउने काम भइरहेको विषयमा मन्त्री र माइकलबीच छलफल भएको छ ।
भेटवार्तामा युनेस्कोका शिक्षा अधिकृत डा. बलराम तिमिल्सेना, युनेस्कोका निम्ति नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा. बाबुराम अधिकारी लगायत प्रतिनिधिको सहभागिता रहेको थियो । भेटमा विद्यालयको पूर्वाधार निर्माण तथा कोभिड–१९ले शिक्षामा पारेको प्रभावबारे छलफल भएको थियो ।