काठमाडौं – देशभर आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश एक, दुई, बागमती र गण्डकीका केही स्थानहरूमा र बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । अहिले बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहेको छ । आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । गण्डकी, बागमती र प्रदेश एकका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश एक, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा राति हल्का हिमपातको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ । मुलुकका केही स्थानमा वर्षा र हिमपातको समेत सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।