काठमाडौं – सरकारले नेपालीहरुको महान् चाड तिहार, छठ पर्व लगत्तै १२ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिने भएको छ । १२ वर्षमाथिका दीर्घरोगी बालबालिकालाई फाइजर खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले भोलि मात्रै कोभ्याक्स सुविधा अन्र्तगत एक लाख ६ सय मात्रा फाइजर खोप अमेरिकाबाट आउने बताउनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले फाइजर खोप दिन प्रयोग गरिने सिरिज भने आज नै आइपुग्ने बताउनुभएको छ । उहाँले उक्त खोप १२ वर्षदेखि १८ वर्षसम्मका दीर्घरोगी बालबालिका र यसअघि खोप लगाउन छुटेका अन्य उमेर समूहका दीर्घरोगीलाई छठ लगत्तै खोप दिने योजना बनाएको उल्लेख गर्नुभयो ।

फाइजर खोप एक महिनासम्म भण्डारण गर्न सकिने भएकाले दीर्घरोगीको लागि स्थानीय प्रदेश र केन्द्रका खोप केन्द्रमा पठाइने भएको छ । फाइजर खोप दिनका लागि स्वास्थ्यकर्मीलाई तालिम समेत दिइने उहाँले बताउनुभयो । अमेरिकाबाट भोलि नेपाल आइपुग्ने फाइजर खोप १२ देखि १८ वर्ष उमेर समूहका सबै बालबालिकालाई नपुग्ने भएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दीर्घरोगी बालबालिकाहरुका लागि भनी विशेष प्राथमिकता दिएको हो । उक्त कोभ्याक्स खोप फोक्सो, मधुमेह, उच्च चाप, मुटु, मृगौला लगायत दीर्घरोगीले खोप पाउने छन् ।

फाइजर खोप अमेरिकी फाइजर बायोएनटेक कम्पनीले उत्पादन गरेको हो । यस खोप युएस फुड एन्ड ड्रग एडनिनिस्ट्रसले १६ वर्षमाथिका बालबालिकालाई खोप लगाउने अनुमति दिएको थियो । पुनः ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकामा पनि यो खोप निकै प्रभावकारी देखिएको एक अध्ययनले देखाएको छ । लक्षणसहितको कोरोना सङ्क्रमण रोक्न अर्थात नियन्त्रणका लागि ९१ प्रतिशत काम गरेको अध्ययनले देखाएको छ । अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले यस खोपलाई ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई अनुमति दिने नदिने सम्बन्धमा निर्णय गर्ने भएको छ ।