विराटनगर – सत्तारुढ दल नेपाली काङ्ग्रेस प्रदेश नम्बर एकले आजको प्रदेशसभाको बैठक स्थगित गर्न माग गरेको छ । मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिने कार्यसूची तय भएको छ ।

पार्टीभित्र छलफल गर्नुपर्ने र गृहकार्य नपुगेको लगायतका विविध कारण रहेकाले आजको बैठक स्थगित गर्न लिखित रुपमै माग गरिएको काङ्ग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो– गृहकार्य नपुगेकाले आजको बैठक स्थगित गर्न माग गरेका हांै, सभामुखले बैठक बोलाएपछि के गर्ने भन्ने निर्णय हुन्छ ।’

कतिपय सांसद सभापतिको कार्यक्रममा सहभागी हुनुपर्ने भएकोले पनि बैठक स्थगित गर्न प्रदेशसभा सचिवालयसमक्ष लिखित माग गरिएको प्रमुख सचेतक केदार कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पार्टीभित्र छलफल समेत गर्नुपर्ने भएकोले आजको बैठक स्थगित गर्न माग गरेका हौँ ।” प्रमुख सचेतक कार्कीले निवेदन दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा काङ्ग्रेसका सांसदहरुले फ्लोर क्रस गर्ने सम्भावना बढेकाले त्यसलाई रोक्न बैठक स्थगितको माग गरिएको आशङ्का गरेका छन् ।