काठमाडौं – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवलमा आज विहानै सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको एम्बुलेन्स र बिपरित दिशाबाट आएको मोटरसाइकल ठक्कर खाँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार लु १ झ २८७ नम्बरको एम्बुलेन्स र बुटवलबाट पश्चिमतर्फ गइरहेको लु २४ प ३९८७ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा एकआपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक गुल्मी घर भई हाल तिलोत्तमा नगरपालिका ३ बस्ने २४ वर्षीय अनमोल थापा र मोटरसाइकलको पछाडी सवार सैनामैना ४ का ३५ वर्षीय निशान क्षेत्रीको मृत्यु उपचार क्रममा लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ । त्यस्तै एम्बुलेन्स चालक गैंडहवा गाउँपालिका ६ का ३६ वर्षीय सुरेन्द्र मुराउको सोही अस्पतालमा उपचार भईरहेको छ । घटनाबारे थप अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।