फाइल तस्वीर

काठमाडौं – शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताउनुभएको छ । उहाँले न्यायोचित वितरण र योजनाबद्ध विकासको कामलाई अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) धुलिखेल नगर कमिटीले हिजो आयोजना गरेको दिपावली, छठ र नेपाल सम्बत्का अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्बोधन गर्दै झाँक्रीले यस्तो बताउनुभएको हो । उहाँले योजनाबिना अनुसन्धान शक्तिशाली मान्छेले बोलेका भरमा विकास हुँदै आएकाले जीवनस्तरमा पार्ने फरकपनका बारेमा ध्यान नपुगेको उल्लेख गर्नुभयो ।

अहिले पनि मान्छेले सुने जानेका आधारमा लोकप्रियताका लागि स्मार्ट शहर भन्ने नै थाहा नभएर पनि त्यसैको गफ गरेर आफू भएका बेलामा बनाउनुपर्छ भनेर उपभोक्ता समिति बनाइहाल्ने र गरिहाल्ने स्थितिले समग्र देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भएको उहाँको भनाइ थियो ।

अबको दिनमा योजना आयोगमा प्रविष्ट भएका योजनामा मात्रै बजेटको विनियोजन भयो भने समयमा नै योजना पूरा हुने र त्यसको लाभांश छिट्टै नागरिक पाउने अवस्था सिर्जना गर्नेतर्फ आफूले सोच बनाएको उहाँको भनाइ थियो ।

बनिबनाउ पार्टीबाट विद्रोह गरी नयाँ पार्टी स्थापना गरेकाले नयाँ पार्टी निर्माणका काममा कठिन यात्रा गरिरहेको जनाउँदै उहाँले पार्टीमा लागेकालाई आफूहरूले तय गरेको यात्रालाई सफल पार्न निरन्तर लागिरहन आग्रह गर्नुभयो ।