काठमाडौं – नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको विषयमा कुनै छलफल नभएको स्पष्ट पारेको छ । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने वा नमाग्ने भन्ने विषयमा कुनै छलफल नभएको प्रष्टयाउनु भएको हो । शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले पूर्व न्यायाधिश फोरमले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको बक्तव्यबारे पनि आफूहरुलाई औपचारिक जानकारी नआएको स्पष्ट पार्नुभयो ।

अध्यक्ष श्रेष्ठले पूर्व न्यायाधिश फोरमले मागेको राजीनामाबारे प्रधानन्यायाधीश आफैले सोच्नुपर्ने प्रतिक्रिया समेत दिनु भयो । उहाँले भन्नु भयो, ‘उहाँहरुको हिजोका अनुभवको आधारमा समेत उहाँहरुले आफ्नो विचारहरु दिनु भएको छ । त्यो विचार अनुसार त्यसको अवलम्वन गर्ने वा नगर्ने भन्ने कुरा जसप्रति इंगित गरेर त्यो वक्तव्य आएको छ ।

उहाँले सोच्नुपर्ने हो । हामीले त्यो फोरमको, पूर्व न्यायाधिशहरुको फोरमले निकालेको वक्तव्य नेपाल बारमा आईसकेको छैन । हामी फरमल्ली त्यो अध्ययन गर्छौं । र त्यसको सम्बन्धमा बारको कुनै धारणा बनिसकेको छैन । राजीनामा माग्ने वा नमाग्ने भन्ने विषयमा हामी प्रवेश गरिसकेका छैनौं ।’ अध्यक्ष श्रेष्ठले भागबण्डाको आधारमा न्यायाधिश नियुक्त गर्ने काम गरिएकाले त्यसको दुष्परिणाम न्यायालय आफैले भोग्नुपर्ने अवस्था आएको तर्क गर्नु भयो । उहाँले न्यायालयको सुद्धीकरणका लागि आफूहरुले विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै आएपनि सुनुवाई हुन नसकेको गुनासो गर्नु भयो । अध्यक्ष श्रेष्ठले न्यायालयमा विचौलिया प्रवेशमा रोक लगाउन आफूहरुले सुझाव दिँदै आएको पनि स्मरण गराउनु भयो ।