चितवन — चितवनको रत्ननगरस्थित बकुलहर अस्पतालमा एक समूहले मध्यरातमा तोडफोड गरेको छ । अस्पतालका सुरक्षा गार्डलाई पनि कुटपिट भएको छ ।अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. विश्ववन्धु बगालेले ५।६ जनाको समूहले मध्यरातमा आकस्मिक कक्षको ढोकाको सिसा फुटाउनुका साथै सुरक्षा गार्ड एकबहादुर थापामगरलाई कुटपिट गरेको बताउनुभयो । उनीहरुले ड्युटीमा रहेका नर्सहरुमाथिसमेत हातपातको प्रयास गरेका बगालेले बताउनुभयो ।

तोडफोड गर्ने तथा कुटपिट गर्ने समूहको पहिचान भएको छैन । उनीहरु फरार छन् । तोडफोड र कुटपिटमा सङ्लग्नहरुको सिसिटिभी फुटेज छ । उनीहरुले प्रयोग गरेको मोटरसाइकल नियन्त्रणमै छ । घटनाबारे इलाका प्रहरी कार्यालय टाँडीलाई जानकारी गराइएको मेसु डा. बगालेले जानकारी दिनुभयो ।

उहाँले राती डिउटीमा आएर तोडफोड गरेर स्वास्थ्यकर्मीको मनोबल घटाउने र ज्यानकैसमेत सुरक्षाको सवाल भएकाले स्थानीय प्रशासनले दोषीहरुलाई तत्काल पक्राउ गरी कारबाही हुनुपर्ने माग गर्नुभयो ।