काठमाडौँ – नेपालबाट सन् १९८० को दशकमा चोरी भएको भगवान गौतम बुद्धको ढुङ्गाको मूर्ति अमेरिकामा फेला परेको छ ।

पुरातात्विक महत्वको ९।१० औँ शताब्दीको शाक्यमुनि बुद्धको ढुङ्गाको मूर्ति अमेरिकाको क्यालिफोर्निया राज्यको सन–फ्रान्सेस्कोस्थित जानडु ग्यालरीको सङ्कलनमा फेला परेको हो । नेपालबाट हराएका वा चोरी भएका पुरातात्विक महत्वका सम्पदाको पहिचानमा सक्रिय रहँदै आएको ‘लस्ट आर्टस् अफ नेपाल’ ले बिहीबार जारी गरेको सूचनामा ललितपुर पाटनको गुइतः टोलको स्तूपाबाट चोरी भएको बुद्धको मूर्ति जानडु ग्यालरीमा फेला परेको उल्लेख छ ।

मूर्तिको माथिल्लो भाग अर्थात प्रभामण्डल भाँच्चिएको थियो । अहिले जानडु ग्यालरीमा रहेको मूर्तिमा प्रभामण्डल मर्मत गरी मिलाएर राखिएको छ । मर्मतको क्रममा प्रभामण्डलको माथिल्लो भाग केही फरक बनाइएको देखिन्छ । पाटनबाट शाक्यमुनि बुद्धको मूर्ति हराए पनि यसको अवस्था वा कहाँ छ भन्नेबारे यसअघिसम्म जानकारी थिएन ।