काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा बाढीपहिरो र डुबानले भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले शोक सन्तप्त परिवारमा सहानुभूतिसहित समवेदना समेत प्रकट गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति भण्डारीले विपद्को यो दुःखद् घडीमा प्रकोप पीडितहरुको उद्धार तथा व्यवस्थापन, घाइतेहरुको उपचार, राहत वितरण र बेपत्ता भएकाहरुको खोजी कार्यमा राज्यका संयन्त्रहरुलाई परिचालित गर्ने कार्यमा सम्बद्ध निकायको ध्यान पुग्ने विश्वासमेत व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले प्रकोपबाट कृषि क्षेत्र, खासगरी धान बाली र विविध भौतिक पूर्वाधारको विनाशको सन्दर्भमा राहत, क्षतिपूर्ति र पुनर्निर्माण सम्बन्धमा समन्वयात्मक रुपमा अघि बढ्न पनि आग्रह गर्नुभएको छ । प्रवक्ता आचार्यका अनुसार राष्ट्रपति भण्डारीले प्राकृतिक प्रकोपबाट उत्पन्न दुःखको यस अवस्थामा सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था र समुदायलाई आवश्यक समन्वय र सहकार्यसहित पीडितहरुको उद्धार तथा राहत कार्यमा संलग्न हुन समेत आह्वान गर्नुभएको छ ।