काठमाडौं – सरकारले अविरल वर्षाका कारण गएको बाढी तथा पहिरोमा परी घर भत्केकाका परिवारलाई तत्काल प्रतिधुरी ५० हजार दिने निर्णय गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बुधबार बसेको बैठकले सो निर्णय गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।

उनहाँका अनुसार अहिलेसम्म विभिन्न जिल्लामा २० घर भत्केका तथ्याङ्क प्राप्त भएको छ । यस्तै उद्धार र राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने निर्णय भएको पनि पोखरेलले बताउनुभयो । यस्तै अन्य कृषि बालीलगायतका क्षतिका सन्दर्भमा आवश्यक अध्ययन गरेर त्यसका आधारमा क्षतिपूर्ति दिने निर्णय भएको छ । त्यसका लागि कृषि मन्त्रालयको संयोजकत्वमा देशभर भएका क्षतिको लगत सङ्कलन गरिनेछ ।

यस्तै प्रधानमन्त्री पनि बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनमा जाने तय भएको पोखरेलले बताउनुभयो । प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार देशभर बाढी पहिरोबाट ५० जनाको मृत्यु भएको छ भने ३९ जना बेपत्ता छन् ।