इनरुवा – इनरुवा सबस्टेशन डुबानमा पर्दा त्यहाँ कार्यरत मजदुरहरुको पनि बेहाल भएको छ । उपकरणहरु जडान कार्यमा संलग्न मजदुरहरु बसेको कोठाभित्रै कम्मरसम्म डुबाउने पानी छ । उनीहरुलाई सशस्त्र प्रहरीको टोलीले डुङ्गामार्फत् उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ । त्यसअघि उनीहरु कोठाभित्रकै अग्लो स्थानमा बसेर आफूलाई सुरक्षित राख्ने प्रयास गरेका थिए ।

कोठाभित्र रहेका खानेकुरा, कपडा, प्रयोग गर्ने औजार सबै डुबानमा परेको उनीहरुले बताएका छन् । अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन ४०० केभी र २२०÷१३२÷३३ केभी इनरुवा सबस्टेसन डुबानमा परेको छ । सुनसरी खोला नै सबस्टेसनमा पस्दा ठूलो क्षति पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

आगामी पुसभित्र (डिसेम्बर २०२१भित्र) निर्माण सम्पन्न गरी सन्चालन गर्ने लक्ष्यका साथ दुवै सबस्टेसनको काम भइरहेको थियो ।