काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन) २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तिको प्रक्रिया आरम्भ गर्न मन्त्रालयका उच्च अधिकारी र शिक्षक सेवा आयोगका पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।

राज्यमन्त्री बोधमाया कुमारी यादवका साथ ब्रिफिङ लिने क्रममा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीलगायतलाई मन्त्री पौडेलले उक्त निर्देशन दिनुभएको हो ।

नियमावलीमा रहेका नियुक्ति प्रक्रिया ऐन, कानुन तथा शिक्षक समुदायको सहमतिबमोजिम योग्यता, अध्यापन अनुमतिपत्रलगायत विषयमा सहजीकरणका लागि संशोधन गर्न लागिएको हो ।

मुलुकभर करिब ५४ हजार शिक्षक दरबन्दी अभाव रहेकोमा आयोगले हाल करिब १८ हजार शिक्षकका लागि विज्ञापन गर्ने तयारी गरेको छ । रासस