काठमाडौं – परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङयीबीच फोन संवाद भएको छ । दुई समकक्षीबीच ‘भर्चुअल’ माध्यमबाट एक घण्टा लामो संवाद भएको हो । भिडियो संवादमा चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को विषय प्राथमिकतामा परेको परराष्ट्र मन्त्रालयको स्रोतले जनाएको छ ।

परराष्ट्रमन्त्री डा. खड्का र चिनियाँ समकक्षी वाङयीबीच भएको संवादमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ परराष्ट्रमन्त्री वाङलाई बीआरआई परियोजना नेपालले स्वीकृत गरेको भन्दै कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । मन्त्री खड्कालाई उद्धृत गर्दै स्रोतले भन्यो “परियोजना अन्तर्गत नेपालको हितमा रहेका पक्षहरूलाई हामी कार्यान्वयनमा तुरुन्तै लैजानेछौँ ।”

परराष्ट्र मन्त्रालयबाटै भएको भिडियो संवादमा चीनले अतिक्रमण गरेको भनिएको सीमा क्षेत्रको विषयमा पनि छलफल भएको थियो । छलफलमा सीमासम्बन्धी थप अध्ययन गर्ने दुई देशको समझदारीमा विवाद भएको सीमा क्षेत्रको समस्या समाधान गर्ने भद्र सहमति भएको छ । “स्वाभाविक रूपमा सीमा सम्बन्धी कुरा पनि उठान भयो, मन्त्रीज्यूले हाम्रो भूमिको सम्बन्धमा स्पष्ट कुरा राख्नुभयो,” स्रोतले भन्यो, “उताबाट पनि आपसी समझदारीमा समस्या सुल्झाउन सहमति आएको छ ।” संवादमा चिनियाँ पक्षले चीन सम्बन्धमा सत्तारूढ दल नेपाली काङ्ग्रेसको नीतिको विषयमा चासो राखेको थियो । जवाफमा मन्त्री खड्काले नेपाल र नेपाली काङ्ग्रेस आफूहरू सन्तुलित र असंलग्न परराष्ट्र नीतिको पक्षमा रहेको जवाफ दिनुभएको थियो ।

मन्त्री खड्काका अनुसार, “नेपाली काङ्ग्रेस एक चीन नीतिमा स्पष्ट छ । हामी सन्तुलीत र असंलग्न परराष्ट्र नीतिका पक्षमा छौँ ।” संवादमा दुई देशको आपसी हित र सहयोग आदान प्रदान गर्ने, दुई पक्षीय भ्रमण आदानप्रदान तथा विश्व राजनीतिको बदलिँदो रूपको विषयमा पनि छलफल भएको परराष्ट्र स्रोतले जनाएको छ ।