काठमाडौं – सरकारले बाँके घटनाबारे छानबिन समिति बनाएसँगै रुबी खानले आमरण अनशन तोडेकी छन् । बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाबारे बनाइएको समितिले छानबिन प्रक्रिया अगाडि बढाउने सहमति गरेपछि अनशन तोडेकी हुन् ।

धोबीको मृत्यु र कुर्मी बेपत्ता पारिएको बारे न्याय नमिलेको भन्दै अधिकारकर्मीसहित १४ महिला २० दिन पैदल हिँडेर नेपालगन्जदेखि काठमाडौं आएका थिए । मंगलबार माइतीघरमा पत्रकार सम्मेलन गरी उनले अनशन तोडेकी हुन् ।

धोबीको मृत्यु र कुर्मी बेपत्ताबारे न्याय माग्दै महिला अधिकारकर्मीहरू १२ दिनदेखि माइतीघरमा धर्नामा बसेका थिए । रुबी खान भने महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा अनशनमा थिइन् ।

गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । एक साताभित्रमा छानबिन प्रतिवेदन बुझाउने गरी सहमति भएको छ । रुबी खानले सात दिनमा सरकारले छानबिन प्रतिवेदन पेस नगरे पुनः कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएकी छन् ।