धनगढी – अविरल परेको वर्षाका कारण महाकाली र जोगबुढा नदीमा आएको बाढीले तटीय क्षेत्रका दुई सय घर डुबानमा परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर ९, १२ र १३ तथा दोधाराचाँदनी नगरपालिका वडा नम्बर १० को कुतियाकबर क्षेत्रका दुई सय घर डुबानमा परेका हुन् ।

बाढीले चार लेनको महाकाली पुललाई जोड्ने पहुँच मार्गका रुपमा निर्माण भइरहेको ६ लेनको सडकमा पनि क्षति पुर्याएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले महाकाली नदी र जोगबुढा नदीमा अहिलेसम्मकै ठूलो बाढी आउँदा तटीय क्षेत्रका सयौं घरपरिवार प्रभावित भएको बताउनुभएको छ ।

नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ । आइतबारदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा भइरहेको लगातारको वर्षापछि महाकाली लगायतका नदीहरुमा बाढी आएको छ । हालसम्म मानवीय क्षति भने नभएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रभावित परिवारहरुको उद्धार तथा राहतका लागि बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका संयुक्त टोलीहरु परिचालन गरिएको र उद्धार तथा राहतको कार्यमा जिल्लामा क्रियाशील गैरसरकारी संघसंस्थाहरुको सहयोग लिने काम समेत भइरहेको बताइएको छ । तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम जारी राखिएको छ । भिमदत्त नगरपालिका वडा नम्बर १२ का ४० परिवारलाई स्थानीय विद्यालयमा राखिएको छ ।

महाकाली नदीमा २०७० सालयताकै ठूलो बाढी आएको छ । आज बिहान तीन लाख ९१ हजार क्युसेक मापन गरिएको पानीको सतह अहिले बढेर चार लाख ६१ हजार सात सय २८ क्युसेक पुगेको हो । महाकाली नदीमा २०७० सालयताकै ठूलो बाढी आएको छ । पानीको बहाव बढ्ने क्रम अझै जारी छ । नदीले चार लेनको महाकाली पुललाई जोड्ने पहुँच मार्गका रुपमा निर्माण भइरहेको ६ लेनको कालोपत्रे सडक पनि कटान गर्न थालेको छ । सडकको एकातर्फको आधा भाग नदीले कटान गरिसकेको छ ।