काठमाडौं – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफूले पाएको जिम्मेवारीलाई इमान्दारीका साथ निभाउन प्रयास गर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले हिजो सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले संविधानको रक्षा गर्दै जनताको भावना र चाहनाअनुसार जिम्मेवारीपूर्वक काम गरेर देखाउने बताउनुभयो ।

वर्तमान सरकारले देशमा भइरहेको भ्रष्टाचार र कुशासनविरुद्ध काम गर्ने उहाँको भनाइ थियो । अध्यायदेशबाट आएको बजेटलाई नै परिमार्जन गरेर वर्तमान सरकारले बजेट ल्याएको उल्लेख गर्दै मन्त्री झाँक्रीले स्थानीय सरकारसँग समन्वय गरेर मन्त्रालयको कामलाई प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेकपा (एकीकृत समाजवादी) की नेत्रीसमेत रहनुभएकी झाँक्रीले युवाहरूको सहभागितामा देशैभरि पार्टी विस्तारको अभियान चलिरहेको जानकारी दिनुभयो । अघि बढ्नका लागि राजनीतिक गठबन्धन भइहेको र पार्टी–पार्टीबीचको गठबन्धनले निरन्तरता पाइरहने उहाँको भनाइ थियो । आफू तीन दिन मात्रै मन्त्रालय गएको र मन्त्रालयका विषयमा थप जानकारी लिन नपाएको उहाँको भनाइ थियो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक अवसर गुमाएको बताउँदै आफ्नै बहुमतको सरकार हुँदासमेत ओलीले सुशासनभन्दा कुशासन दिने काम गरेको उहाँको आरोप थियो । रासस