काठमाडौं – देशको अधिकांश भू–भागमा सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश एक र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा भएको छ । आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश एक, प्रदेश दुई, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेश र प्रदेश एकका केही स्थान, प्रदेश दुई, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । प्रदेश एक, लुम्बिनी प्रदेशका थोरै स्थान, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको तथा सुदूरपश्चिम प्रदेश र प्रदेश एकका केही स्थान, प्रदेश दुई, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा वागमती प्रदेशका एकदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । हाल बङ्गालको खाडीमा र मध्य भारतमा रहेको न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ । जसका कारण वर्षा भइरहेको छ ।