काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नर्भिक अस्पताल पुग्नुभएको छ । दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा भर्ना भई उपचाररत आफ्ना राजनीतिक गुरु तथा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण) लाई भेट्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नर्भिक अस्पताल पुग्नुभएको हो ।

उहाँले अस्पतालमा रहनुभएका नेता वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिनुभएको छ । नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले नेता वैद्यको स्वास्थ्य अवस्थाको विषयमा प्रचण्डलाई जानकारी गराउनुभएको थियो । सो क्रममा अध्यक्ष प्रचण्डले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।

प्रचण्डसँगै नेता वैद्यलाई भेट्न माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा, मातृकाप्रसाद यादवलगायत नेता अस्पताल पुग्नुभएको थियो । आइतबार बिहान नर्भिक भर्ना हुनुभएका नेता वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताउनुभएको छ ।