काठमाडौ – नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकमा पार्टीको आगामी सम्मेलनको बारेमा छलफल भएको छ । आज सोमवार केन्द्रिय पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समितिको बैठकमा पार्टीको आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरु गठनको विषयका बारेमा छलफल भएको हो ।

बैठकपछि पार्टीका प्रवक्ता कृष्णबहादुर महराले स्थायी कमिटीको बैठकमा पार्टीका बारेमा विभिन्न कुराहरु उठेको तर निष्कर्षमा नपुगिएको बताउनुभयो । उहाँले स्थायी कमिटीमा उठेका कुराहरुलाई छलफलपछि मात्रै निष्कर्षमा लैजाने बताउनुभयो ।

प्रवक्ता महराले भन्नुभयो, ‘आज नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भयो, आज खास गरेर आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरु गठनको विषय प्रवेश गरेको छ, विषय निष्कर्षमा पुगेको छैन, भोलि बिहान ८ बजे फेरि स्थायी समितिको बैठक बस्छ र भोलि निर्णय हुन्छ, एजेण्डा प्रवेश भएको छ, छलफल सुरु भएको छ, भोलि मात्रै निर्णय हुन्छ ।’

पार्टीको अर्को स्थायी समितिको बैठक भोलि बिहान ८ बजे बस्नेछ । भोलिको बैठकपछि मात्रै स्थायी समितिमा उठेका कुराहरुको निर्णय गरिने प्रवक्ता महराले बताउनुभयो ।