तस्वीर, नवसञ्चार अनलाइन ।
काठमाडौं – दशैंको फुलपातीदेखि क्रमशः सुनसान बन्दै नवमी र विजयादशमीको दिन ठप्प प्राय देखिएको राजधानीका सडकहरु आजदेखि चहलपहल बढेको छ । बडा दशैंको टीका पछि सडकमा चहलपहल बढेको हो । उपत्यकामा आज केही मात्रामा खाद्यान्न, दूध, तरकारी तथा मासुका पसल समेत खुलेका छन् ।

दसैं टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिनजाने आउने क्रमले गर्दा सडकमा चहलपहल देखिएको छ । विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दसैँको टीका लगाउने चलन भएकाले टाढा टाढा हरनु भएका आफन्त इष्टमित्र नातेदारहरुकोमा जाने आउने क्रम बढ्द थालेपछि राजधानीका सडकहरुमा निजी सवारी साधनहरुको लस्कर बाक्लिंदै गएको छ ।

भाडाका साना ठूला सवारी साधनहरु पनि सडकमा गुड्न थालेका छन् । गत वर्षको भन्दा यस वर्ष कोरोना भाइरस सङ्क्रमणको सन्त्रासमा केही कमी देखिएकोले पनि यो पटकको दसैँमा यातायातका साधनहरु सञ्चालन भएका छन् । यसले सर्वसाधारण नागरिकहरुलाई आफन्तकहाँ जान आउन केही सहज भएको छ । तुलनात्मक रूपमा आज सडकमा सवारी साधन बाक्लो सङ्ख्यामा चलेका देखिन्छन् ।

तस्वीर, नवसञ्चार अनलाइन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताए अनुसार आज काठमाडौं उपत्यकामा दसैँको टीका र आशीर्वाद थाप्न जाने मानिस र सवारी साधनहरुको चहलपहल बाक्लै छ । टीकाको पहिलो दिनभन्दा आज केही बढी सवारी साधन चलेका छन् । सवारीको चहलपहल बढे पनि सडकमा जामको चाप भने नरहेको कालिमाटी ट्राफिक प्रहरीले जनाएका छन् । आजबाट बाहिरबाट उपत्यका प्रवेश गर्ने निजी तथा भाडाका सवारी साधनहरु पनि आउनु थालेको नागढुङ्गा ट्राफिक प्रहरीले बताएका छन् ।

ट्राफिक बत्तीका कारण पनि ट्राफिक व्यवस्थापनमा सहज भएको प्रहरीले जनाएको छ । उपत्यकामा आज अपराह्नसम्म कुनै अप्रिय घटना नभएको र सडकमा सवारी साधन निर्बाध रुपमा सञ्चालन भइरहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।